कतार विश्वकपमा मात्र मेसीका दर्जन बढी कीर्तिमान

कतार विश्वकपमा मात्र मेसीका दर्जन बढी कीर्तिमान


अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताएका छन् ।

गत आइतबार कतारको लुसेल रंगशालामा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउमा ४–२ ले हराउँदै सो उपलब्धी हासिल गरेको थियो । सो खेलमा मेस्सीले अर्जेन्टिनाका लागि २ महत्वपूर्ण गोल गरेका थिए । देशका लागि कोपा अमेरिका जिताएको १ वर्षपछि नै विश्वकपको ट्रफी जिताएका मेस्सीले कतार विश्वकपमा दर्जनभन्दा बढी रेकर्डहरु आफ्नो नाममा लेखाएका छन् । 

१. धेरै खेलमा उपस्थिति
करिअरको पाँचौ तथा अन्तिम विश्वकप खेलेका मेसीले कतार विश्वकपमा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् । मेसीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान क्रोएसिया विरुद्ध खेल्दै बराबरी गरेका थिए । विश्वकपको फाइनल खेल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती–११ मा पर्दै मेसीले माथाउसको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । 

२. दुई गोल्डेन बल जित्ने एक्ला खेलाडी 
मेसीले सन् २०१४ र सन् २०२२ मा गरी दुई पटक फिफा विश्वकपको गोल्डेन बल जितेका छन् । सन् २०१४ मा मेसीको अर्जेन्टिना जर्मनीसँग हार्दै उपविजेता भएको थियो । तर कतार संस्करणमा मेसीको अर्जेन्टिना फाइनलमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विजेता बनेको थियो । खेलमा मेसीले ३ असिस्टका साथै ७ गोल गरेका कारण उनी गोल्डेन बलका हकदार भएका हुन् । विश्कप फुटबलमा मेसी बाहेक अन्य कसैले २ पटक गोल्डेन बल जितेका छैनन् । 

३. सबैभन्दा धेरै प्लेयर अफ द म्याचको अवार्ड जित्ने
कतारमा सम्पन्न भएको विश्वकपमा अर्जेन्टिनाले खेलेका सात खेलमध्ये पाँच खेलमा मेसीले प्लेयर अफ द म्याचको अवार्ड पाएका थिए । मेसीले ५ औं संस्करणमा अहिलेसम्म ११ पटक विश्वकप प्लेयर अफ द म्याच अवार्ड जितेका छन् । यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो ।

५. एकै विश्वकपमा सबैभन्दा धेरै प्लेयर अफ द म्याचको अवार्ड जित्ने  
कतार विश्वकपमा अर्जेन्टिनाले खेलेका ७ खेलमध्ये ५ खेलमा प्लेयर अफ द म्याचको अवार्ड मेसीले जितेका थिए । यति धेरै प्लेयर अफ द म्याचको अवार्ड कसैले पनि जितेका थिएनन् । मेसीले साउदी र पोल्याण्डविरुद्धको खेलमा सो अवार्ड जित्नबाट चुकेका थिए । ती खेलहरूमा मोहम्मद अलोवेस र एलेक्सिस म्याक एलिस्टरले अवार्ड जितेका थिए । 

६. धेरै गोलमा योगदान दिने  
मेसी १३ गोलसहित विश्व कपमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त चौथो स्थानमा छन् । तर उनी अहिले गोल र असिस्टको आधारमा भने शीर्ष स्थानमा नै छन् ।

७. विश्वकपमा धेरै खेलमा कप्तानी 
मेसीले सन् २०२२ कतारमा भएका सातवटै खेलमा अर्जेन्टिनाको कप्तानी गरेका थिए । अहिलेसम्म ५ विश्वकप खेलिसकेका मेस्सीले १९ खेलमा कप्तानका रुपमा आर्मब्यान्ड लगाएर कीर्तिमानी आफ्नो नाममा लेखाएका हुन् । 

८. पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडी
रोनाल्डोले कतार विश्वकपमा पोर्चुगलका पाँच भिन्न प्रतियोगितामा गोल गर्ने रेकर्ड आफ्नो नाममा लेखाउँदा लियोले भने ५ विश्वकपमा असिस्ट गर्ने रेकर्ड आफ्नो नाममा राखेका छन् । मेसीले सन् २००६, १०, १४, १८ र २०२२ मा गरी पाँच भिन्न टूर्नामेन्टमा असिस्ट गर्ने रेकर्ड आफ्नो नाममा राखेका छन् ।

९. प्रत्येक राउन्डमा गोल गर्ने पहिलो खेलाडी 
मेसीले समूह चरण, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र त्यसपछि फाइनलमा गरी सबै राउण्डमा गोल गरेका छन् । विश्वकपको नयाँ ढाँचामा अहिलेसम्म कुनै पनि खेलाडीले प्रत्येक राउन्डमा गोल गरेका थिएनन् ।

१०. अर्जेन्टिनाका लागि सबैभन्दा धेरै विश्वकप खेल्ने
मेसी विश्वकपको इतिहासमा पाँच भिन्न प्रतियोगितामा सहभागी हुने पहिलो अर्जेन्टाइन खेलाडी बनेका छन् । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र जाभियर मास्चेरानोले चार–चार विश्वकप खेलेका थिए । यस्तै फाइनल खेलमा महत्वपूर्ण गोल गरेका एन्जेल डि मारियाले कतार विश्वकपमा खेल्दै म्याराडोना र मास्चेरानोको नाममा रहेको रेकर्डलाई बराबरी गरेका छन् । 

११. अर्जेन्टिनाका लागि सबैभन्दा धेरै विश्वकप गोल गर्ने
मेसीले कतार विश्वकपमा सात गोल गरेर आफ्नो गोल संख्या दोब्बर बनाएका छन् । मेसीले ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोड्दै विश्व कपमा अर्नेन्टिनाका लागि सर्वाधिक गोल संख्या १३ पुर्याएका छन् । 

१२. विश्वकपमा गोल र असिस्ट गर्ने सबैभन्दा पाका र कान्छो खेलाडी
लियोले फिफा विश्वकप इतिहासमै सबैभन्दा पाको उमेरमा गोल र असिस्ट तथा सबैभन्दा कम उमेरमा गोल र असिस्ट गर्ने कीर्तिमान बनाएका छन् । मेस्सीले सन् २००६ विश्वकपमा सर्बिया र मोन्टेनेग्रोविरुद्ध गोल र असिस्ट गर्दा १८ वर्षका मात्रै थिए । यस्तै हालै कतारमा सम्पन्न २२ औं संस्करणको विश्वकपमा मेस्सीले ३५ वर्षको उमेरमा मेक्सिकोविरुद्ध गोल र गोलका लागि असिस्ट गरेर सो रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । 

१३. विश्वकप इतिहासमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी
लियोनेल मेसी सन् १९६६ मा कीर्तिमानहरु सुरु भएदेखि विश्वकप इतिहासमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका छन् । ३६ वर्षपछि पहिलो पटक अर्जेन्टिनाका लागि ठूलो उपलब्धी हासिल गराउने क्रममा मेसीले इटालियन डिफेन्डर पाओलो माल्डिनीको नाममा रहेको रेकर्डलाई तोड्दै इतिहासकै सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी बनेका छन् । 

१४. पहिलो र अन्तिम गोल बिचको अवधि 
मेसीले आफ्नो पहिलो र पछिल्लो विश्वकपमा १६ वर्ष १८४ दिनको अन्तरमा गोल गरेका छन् । विश्वकप इतिहासमा मेसीभन्दा पछि क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोको नाममा यो रेकर्ड १६ वर्ष १६० दिन रहेको छ । 

१५. टीनएज, ट्वेन्टीज र थर्टिजमा गोल गर्ने पहिलो खेलाडी
मेसी आफ्नो टीनएज, २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी बनेका छन् । यो रेकर्ड राख्नबाट पेले चार महिनाले चुकेका थिए ।
 

Logo