यौन, रक्सी र राजनीति
  • डा. टीकाराम पोखरेल

राजनीतिमा यौनोस्पर्श: 
राजनीतिशास्त्रको कक्षामा राजनीतिलाई नीतिहरुमध्येको राजा नीति वा सर्वश्रेष्ठ नीति भनेर पढाउने गरिएको छ । तर व्यवहारमा त्यस्तो देखिँदैन । एउटा व्यक्तिको राजनीतिक क्रियाकलापले जब निश्चित खुड्किलो पार गर्दछ तब त्यो शक्तिमा परिणत हुन्छ । शक्ति सन्तुलनमा भएन भने त्यो उन्मादमा परिणत हुन्छ । उन्मादपछि राजनीति मात्र राजनीति रहन्न, या त व्यापार हुन्छ या त यौनको विकृत रुप लिन्छ ।
राजनीतिलाई नीतिहरुको राजा नीति भन्ने चाणक्य दर्शनमा मात्र आजको राजनीति टिकेको छैन ।

कन्फुसियस, अरस्तु, प्लेटो, गान्धी, कार्ल माक्र्स, लेलिन, माओका सिद्धान्तहरु हुँदै धेरै अगाडि बढिसकेको छ । राजनीति अब सिद्धान्तशास्त्रभन्दा बढी व्यवहारशास्त्रको रुपमा प्रयोगमा आइसकेको छ । राजनीतिक व्यवहारशास्त्रका अनुसार राजनीति आफैँमा नशा हो । नशामाथि मादक पदार्थको नाशा लिएपछि राजनीति फोहोरी हुने नै भयो । फोहोरको मैदानमा हामफालेपछि मान्छे पनि गन्हाउने नै भयो । त्यसैले राजनीतिलाई धेरैले फोहोरी खेलको संज्ञा दिएका हुन् ।

राजनीतिमा व्यापार र यौन छद्मभेषी हुन् । तर यी अत्यन्त शक्तिशाली हुन्छन् । यिनले कतिलाई अकल्पनीय तरिकाले पर्छाछन् त कतिलाई अकल्पनीय शिखरमा पु¥याइदिन्छन् । विश्वको यौन राजनीति हेर्ने हो भने यस्तै देखिन्छ । राजनीति बाहिरबाट एउटा हुन्छ भित्र अर्कै देखिन्छ, जतिबेला पैसा र यौन राजनीतिमा हाबी हुन्छ । पैसा र यौनले समग्र राजनीति चलाउँछ । यस्तो बेला राजनीतिज्ञ नामको मान्छे चाहिँ कठपुतली बन्दछ । जब राजनीतिमा यौनका बाछिटाहरु पर्दछन् तव शास्त्रले व्याख्या गरेको राजनीति आदर्शको आस्थाको धरहरा गल्र्यामगुर्लुम ढल्छ । आम मानिसमा निराशा पैदा गरिदिन्छ । राजनीति दुर्गन्धमा परिणत हुन्छ ।

राजनीतिमा यौन र यौनको राजनीतिमा प्रभाव भने आजको मात्र चाहिँ होइन । इतिहासकार र समाजशास्त्रीहरूका अनुसार यौन राजनीति करिब १० हजार वर्षयता प्रबल हुँदै आएको छ । आधुनिक युगमा भने यसको चरमता देखिँदै छ । भनिन्छ, रक्सी र यौन एउटा यस्तो साम्यवादी चीज हो जुन राजादेखि रंकसम्म सबैको जीवनमा समान किसिमले लाग्छ । असली साम्यवाद रक्सी र यौनमै छ भन्ने भनाइ पनि छ । कारण रक्सी र यौनको प्यासले सानो ठूलो छुट्याउँदैन । यसकारण यसमा असली साम्यवाद हुन्छ । व्यंग्यात्मक भए पनि यो भनाइ व्यवहारिक सन्दर्भमा छ । जे होस् वर्तमान राजनीतिमा यौन र रक्सीको ठूलो प्रभाव छ । कति बाहिर आउँछन् कति दविन्छन् त्यो आफ्नो ठाउँमा छ ।

मिटु अभियान र परिणाम
राजनीतिमा भएको यौन समागमदेखि फिल्मी दुनियाँमा भएका यौन लीलासम्म र व्यापारिक घरानाका यौन कर्मदेखि पारिवारिक र समाजमा भएका यौनका घटनाहरुमध्ये अधिकांशमा पहिले सहमतिमा भएका र पछि विभिन्न स्वार्थवश असमझदारी बढी सार्वजनिक भएको देखिन्छन् । पछिल्लो समय चर्चामा रहेको मिटु अभियानले पनि पर्दा भित्रका यस्ता घटना सार्वजनिक गर्न प्रेरित गरेको छ ।

महिलाले आफूमाथि बलात्कार भएको भनी दाबी गर्नु नै बलात्कार भएको मुख्य आधार मानिने हाम्रो कानुनले गर्दा पनि विगतका विस्मृतिका घटना पुनरर्ताजगी हुन्छन् । तर बलात्कारका घटना बाहिर आउनु राम्रो भए तापनि यसको दुरुपयोगको पक्षलाई पनि बिर्सन हुँदैन । छ महिना वा एक वर्ष अगाडि सहमतिमा भएका यौन सम्पर्कका कथाहरु तत्काल बाहिर नआउने, लेनादेना मिलेसम्म बाहिर ननिस्कने तर जब लेनादेना मिल्दैन मिटुमा देखिने जस्ता कुराले समाजलाई सफा चाहिँ बनाउँदैन बरु समाजमा फोहोर नै थपिन्छ । यसले पुरुषको मात्र होइन स्वयम् महिलाको चरित्रमाथि समेत दाग लाग्ने गरेको छ ।

सन् २००६ मा अफ्रिकी अमेरिकी अधिकारकर्मी तराना बुर्केले थालेको र अमेरिकी अभिनेत्री एलिसा मिलानोले अगाडि बढाएको यो अभियान एउटा प्रभावकारी अभियान हो । यो अभियानपश्चात थुप्रै महिला मिटु लिएर अगाडि आए, जसमाथि अतितमा कुनै न कुनै रूपको यौनजन्य हिंसा भएको थियो या आज भइरहेको छ । उनीहरू निर्भय र निसंकोच भएर दुनियाँसामु आफूमाथि भएको अमानवीय हर्कतको खुलासा गरिरहेका छन् । यसबाट धेरै असली अनुहारको मुखुण्डो उघ्रिएको छ ।

पुरुषहरू यसबाट आतंकित र त्रसित भएका छन् । तर सँगसँगै डरलाग्दो तस्वीर के पनि देखिँदै छ भने यो एउटा अभियानभन्दा बढी फेसन हुन थालेको छ । जोसँग कुरा मिल्दैन त्यसलाई बार्गेनिङ गर्ने र मिटुको धम्की दिने श्रृंखला समाजमा देखिन थालेको छ । मिटुले महिलालाई आरोपित गर्दैन पुरुषलाई मात्र गर्छ, जबकी बलात्कार बाहेक मिलोमतोको यौन सम्पर्कमा महिला पुरुष दुवैको बराबरी हात हुन्छ ।

आज विश्वभरि नै मिटू अभियानको भुँमरीमा हलिउड, बलिउड जस्ता फिल्म उद्योग, राजनीति र कर्पोरेट क्षेत्रका पुरुषहरू विवादमा तानिएका छन् । आरोपित कतिपय पुरुषको जागिर खोसिएको छ भने केहीले सार्वजनिक रूपले क्षमा मागेका पनि छन् यसको प्रभाव नेपालमा पनि देखिएको छ । तथापी यो बढीचाहिँ धम्क्याउने, तर्साउने र गलाउने अभियान बनेको छ ।

चर्चित यौन राजनीतिक काण्डहरु:
हजारौँ गोलीको छर्राले नढलेको एक योद्धा यौनको लालसाले ढल्ने गर्छ भन्ने लेलिनको उक्ति राजनीतिमा पटक पटक सावित हुन्छ, जब राजनीतिका महारथीहरु यौनकाण्डमा फसेर ढल्ने गर्दछन् । शक्तिशाली महाराष्ट्रहरुका पूर्व राष्ट्रपिताहरु विल क्लीन्टनदेखि बोरिस एल्तसिनसम्मका यौन र रक्सी काण्ड छन् । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन पदमा रहेका बेला यौन सम्बन्धको आरोप लाग्ने शक्तिशाली नेता हुन् । ह्वाइट हाउसमै काम गर्ने मोनिका लेवेन्स्कीसँग यौन सम्बन्ध राखेको आरोप उनीमाथि थियो ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध धेरै महिलाहरूले एक पछि अर्को गर्दै यौन सम्बन्ध राखेको र बलात्कार गरेको आरोप लगाएका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग रात बिताएको भनी जेनिफर अर्कुरी नामकी महिलाले दाबी गरेकी थिइन् । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लोस्कोनीको करिमा एल मोहरोग नामकी महिलासँगको यौन सम्बन्ध रहेको चर्चामा आयो । अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व अध्यक्ष ट्रास कानले यौन आरोप लागेपछि पदबाट राजीनामा नै दिए ।

युगान्डाका सैनिक नेता इडि अमिन डाडा यौन सम्बन्धका कारण निकै चर्चामा रहे । उनले ६ पटक विवाह गरेका थिए भने ५० जनाभन्दा बढी महिलालाई बाहिर राखेर यौन सम्बन्ध राख्ने गरेका थिए । उनका ३५ देखि ४५ जनासम्म त बच्चा नै भएको बताइन्छ । लिबियाका पूर्व शासनक कर्णेल मुआम्मर गद्दाफी पनि यौनमा लिप्त थिए । अमेरिकी राष्ट्रपतिका उम्मेदवारका रुपमा चर्चा गरिएका अमेरिकाका सेनाका जनरल डेभिड पिट्रियुस अर्का यौन विवादमा तानिएका नेता हुन् । अमेरिकाका पूर्व सिनेटर लारी क्रेग यौन सम्बन्धका कारण पक्राउ नै परे । यसैगरी इलियोट स्पिट्जर, ग्यारी कोन्डिट, मार्क सानफोर्ट, जिम म्याकग्रिभी, डेभिड भिटर, जोन इडवार्डजस्ता वरिष्ठ अमेरिकी राजनीतिक यौन सम्बन्धका कारण राजनीतिबाट हात धुन बाध्य भएका थिए । छिमेकी राष्ट्र भारतमा महात्मा गान्धीदेखि जवाहरलाल नेहरुसम्मका नेताहरु पनि यौन विवादमुक्त हुन सकेनन् ।

नेपाली राजनीतिमा केही नेताहरुको आफ्नै पार्टीका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा ‘ओपन सेक्रेट’ रूपमा चल्ने गरेका छन् । कतिका प्रमाण होलान् कतिमा प्रमाणहरू फेला परेका छैनन् । विगतमा राजा त्रिभुवनदेखि तुलसी गिरीसम्म, वीपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मका नेता कतै न कतै यौन विवादमा तानिएका छन् । मोहनविक्रम सिंहलाई लागेको यौनकाण्ड कम्युनिष्ट पार्टी फुट्ने कारण नै बन्यो । इतिहासका रणबहादुर शाह, सुरेन्द्रविक्रम शाह, जंगबहादुर राणा लगायतका श्री ३ हरुका यौनलीलाका कथा त इतिहासका पुस्तकमै पढ्न पाइन्छन् ।

पछिल्लो समय पूर्वसभामुख कृष्णबहादुर महराको यौनकाण्ड चर्चामा भए पनि सानातिना यौन आरोप धेरै नेताले खेप्नुपरेको छ ।

केशव स्थापित, रमन सिंह, रामबहादुर थापा वादल, शेरधन राई, कृपासुर शेर्पा, हरि पराजुली, मिनेन्द्र रिजाल, बलबहादुर केसी जस्ता नेताहरु पटकपटक यौन विवादमा तानिएका नेताहरु हुन् ।

विवादमा नतानिएका तर भद्र र ओपन सेक्रेट नेता र नेतृ बीचका सम्बन्धको संख्या पनि राजनीतिमा निकै ठूलो छ । लाग्छ, नेपालको राजनीतिक मैदान यौनको उर्वर भूमि हो ।

राजनीतिको नशाा र राजनीतिमा नशा

राजनीति आफैँमा एक नशा हो । नशामाथि मादकीय नशा थपिएपछि त्यो उन्मादउन्मुख हुने नै भयो । त्यसमाथि यौनको स्पर्श भएपछि विस्फोटन हुनु कुनै नौलो होइन । शास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिस यथार्थमा नाङ्गो हुन्छ । कपडाको आवरणमा ऊ आदर्श देखिन्छ । जब एक राजनीतिज्ञले आफ्नो राजनीतिक पृष्ठभूमि, पद, हैसियत भुल्छ ऊ उन्मादको शिखरमा पुग्छ त्यसबेला उसले केही देख्दैन अनि ऊ आफ्नो यथार्थ अर्थात नाङ्गो रुप देखाउन तम्सिन्छ । यस्तो बेला ऊ आफू नाङ्गिएको देख्दैन तर समाजले देखिरहेको हुन्छ ।

एकजना विश्लेषक भन्छन्– धेरैलाई तीतो लाग्न सक्छ, तर यथार्थ यही हो कि राजनीतिको नशामा फसेपछि मान्छे जे पनि बोल्छ, जे पनि गर्छ । बिगार्ने पनि यही राजनीति, पछाडि धकेल्ने पनि यही राजनीति । यो राजनीतिको कामै नराम्रो । अचेल त जनतालाई यी राजनीतिकर्मीहरुको कुरा पनि नशाले मातिएर बरबराउँदै हिँड्ने मान्छेको झैं बेतुक र अविश्वासिलो लाग्न थालिसकेको छ ।

विश्व राजनीतिमै राजनीति, रक्सी र यौनबीच अत्यन्त निकट सम्बन्ध छ । रिसोर्टका राजनीतिक बैठकहरुमा रक्सीकै मुडमा कुरा हुने गरेका तस्वीर बेलाबेला बाहिरिने गरेका छन् । रक्सी मानिस मिलाउने हतियार हो भन्ने भ्रम परेको छ । तर अन्तिममा रक्सीले जुटाउने भन्दा फुटाउने काम बढी गर्छ । मिलाउने भन्दा लडाउने काम बढी गर्छ । त्यसैले एकछिन सहमति गरे पनि त्यो लामो समय टिक्दैन । यौन र रक्सीले राजनीतिलाई फोहोरी बनाउँछ, तर उपलब्धि हुँदैन ।