आगलागी पीडितको सहयोगार्थ राहत संकलन अभियान

आगलागी पीडितको सहयोगार्थ राहत संकलन अभियान


खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितलाई राहत रकम जुटाउन थालिएको छ ।

सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका र क्षति बेहोरेकाको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य संघ तथा उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढी, स्थानीय , राजनीतिक दलको सहयोगमा रकम संकलन सुरु गरिएको हो । बाक्सिला बजारमा सञ्चालन गरिएको घरदैलो अभियानबाट चार लाख ५५ हजार ९५ रुपैयाँ सहयोग रकम संकलन गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताए ।

संकलन भएको रकमध्ये दुई हजार आठ सय खाता खोल्न राखेर बाँकी रहेको चार लाख ५२ हजार २९५ रुपैयाँ रकम अग्नीपीडितलाई वितरण गरिएको छ । आगलागीबाट पीडित भएका तारादेवी राई, डिल्लीकुमार श्रेष्ठ, दिल गुरुङ, पवन श्रेष्ठ, हस्तकुमारी राई, लक्ष्मी राई, इन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही ५० हजार २५५ रुपैयाँका दरले राहत रकम वितरण गरिएको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष राईले जानकारी दिए ।

 आगोले व्यवसायी दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो । त्यी घरमा भाडामा कोठा लिएर व्यापार गरिरहेका अन्य व्यवसायीले पनि क्षति बेहोरेका छन् । आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । केपिलासगढी गाउँपालिकाले विस्थापित परिवारको तत्काल पुनर्स्थापना गर्ने र आवश्यक राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

Logo