भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

सिन्धुली । एक व्यक्तिले गोली हानी श्रीमती र छोरीको हत्या गरेका छन् । गोलञ्जोर गाँउपालिका ६ नाकाजोलीका टेकबहादुर मश्रागीले गोली हानी श्रीमती र छोरीको हत्या गरेका हुन् ।

सामान्य विवादमा मादक पदार्थ सेवन गरेका टेकबहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गर्नुका साथै छोरामाथि खुकुरी प्रहार घाइते बताएका छन् ।

बिहिबार राति ११ बजे मदिरा सेवन गरेर घरमा गएका टेकबहादुरले उक्त घटना घटाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए । श्रीमती किरण मश्रांगीसँग घरायसी विषयमा सामान्य वादविवाद भएको थियो ।

विहिबार राति सुतिरहेको अवस्थामा भरुवा बन्दुकको छर्राले श्रीमतीको घाटीमा र छोरी प्रेमसु मश्रांगीको कनचटमा लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमती र छोरीको हत्या गरेपछि उनले छोरा कृष्ण मश्रांगीलाई खुकुरी प्रहार गरेका थिए । मश्रांगीको धारिलो खुकुरी प्रहारबाट बाया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ भने श्रीमती र छोरीको हत्या गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले टेकबहादुरसँगै भरुवा बन्दुक, खुकुरी, भरुवा बन्दुकमा लाग्ने पहेलो प्लाष्टिकको पोकाभित्र विभिन्न साइजको धातुको टुक्रा, डिकोल र डाबर लेखिएको कालो पदार्थ र सेतो बट्टामा १९ ओटा फलामको टुक्रा बरामद गरेको छ ।