नारायणगढ-मुग्लिङ सडक किन बन्द भैरहन्छ पटक पटक ?

नारायणगढ-मुग्लिङ सडक किन बन्द भैरहन्छ पटक पटक ?


नेपालको मध्य भागमा रहेको नारायणघाट-मुग्लिङ सडकमा सवारी साधन घण्टौ जाममा बस्नु पर्ने पूरानो रोग हो । यो खण्डमा बर्खामा मात्र हैन हिउँदमा पनि पहिरो जाँदा समस्या आउने गरेको छ । तर यतिखेर पुल बनाउन पहरो काट्न दिनको ४ घण्टा सडक ठप्प छ । यसले लाखौं यात्रुहरुलाई समस्या भएको छ । यो समस्या १ दिन वा १ हप्ता मात्र हो र ? १ महिनासम्म जारी रहने छ । 

नेपालको व्यस्त तथा रणनैतिक महत्वको सडक नारायणगढ- मुग्लिङ खण्डको जामको अनुभव नलिएको नेपाली यात्रु सायद कोही पनि छैन भन्दा अत्युक्ति नहोला । देशको मध्य भाग जसले राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने गर्छ । खासगरी बर्खा र हिउँदमै पनि पहिरो जाने र बाटो भासिने समस्याका कारण यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तर पछिल्ला वर्षहरुमा सडक विस्तारका कारण समेत यात्रुहरुले हैरानी बेहोर्नु परेको छ । यस्तै हैरानी गत मंगलबारबाट फेरि सुरु भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा एक महिनासम्म आउजाउ बन्द भएका कारण हजारौं सवारी साधन सडकमा रोकिनुपर्ने बाध्यता छ । यसले मानिसहरुको आवत जावतमा निकै कठिनाइ भएको छ । 

सडक विस्तारकै क्रममा ठूला पुल बनाउन यसपटक फेरि पहरो काट्नकै लागि सवारी आवागमन बन्द गरिएको नारायणगढ–मुग्लिङ–नागढुंगा सडक आयोजनाले जनाएको छ ।   

No description available.निर्माणाधीन र सम्पन्न पुल तथा त्यसको पहुँच मार्ग, लिंक रोड तयार गर्न बाटो बन्द गरिएको आयोजनाले जनाएको छ । पुल बनाउन पहाड काट्नु पर्ने भएकोले बाटो बन्द नै गर्नु पर्ने भएको आयोजनाका अधिकारीहरुले बताएका छन् । यो सडकमा अहिले १५ वटा पुल बनाउने काम भैरहेको छ । ति मध्ये ४ वटा पुलको काम गर्न सडक नै बन्द गरिएको हो । 

No description available.नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको फराकिलो बनाउन ०७२ साल वैशाखमा काम सुरु भएर ०७५ कात्तिकमा सम्पन्न भएपनि पुल बनेका थिएनन् । सडक फराकिलो भएपनि पुल साँघुरो भएका कारण सवारीसाधन सहज रूपमा आउजाउ गर्न गाह्रो भएको थियो । यो सडक खण्डमा २० वटा पुल रहे पनि ५ वटा सडकअनुरूप नै फराकिलो बनाइसकिएको छ । कोरोना महामारीका कारण पुल निर्माणमा ढिलाइ भएकोले निर्माणको म्याद थप गरी काम अघि बढाइएको हो । 

आयोजनाका अनुसार विश्व बैंकको ऋण सहयोगमा करिव सवा अर्ब रुपैयाँको लागतमा पुल बन्न सुरु भएको हो । हाल ठूला गाडी आरपार हुन अप्ठ्यारो हुने ति पुल विस्थापन गरिएपछि सजिलै दुईतर्फी गाडी चल्नेछन् । 

दिउँसो ४ घण्टा सडक ठप्प बनाएर काम गर्दा आर्थिक क्षेत्रमा भने असर पुग्ने व्यवसायीहरूको मत छ । बाटो बन्द हुँदा चितवन घुम्न जाने यात्रुहरूलाई बढी मर्का परेको छ । यो सडक काठमाडौंको जीवन रेखा अर्थात् ‘लाइफ लाइन’ पनि हो । यात्रु मात्रै नभएर मालबाहक गाडीहरू यही बाटो हुँदै काठमाडौं भित्रने गर्छन् । चितवन हुँदै काठमाडौं, पोखराजस्ता ठूला सहरमा जाने मासु, दूध, अण्डा, तरकारी, फलफूल, केरा ढुवानीमा पनि समस्या भएको छ । दैनिक ४ घण्टा सडक ठप्प हुँदा टाढाबाट आएका सवारी साधन व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण रहेको ट्राफिक प्रहरीको भनाइ छ । 

No description available.
पुल निर्माणका लागि चिसेन्जी, तुइन खोला, कालीखोला र सिमलतालमा पहाड काट्नुपर्ने आयोजनाले जनाएको छ । यसका लागि ११ वटा मेसिन प्रयोग भएको छ ।

No description available.एक महिना लामो सडक अवरोध यात्रुहरुका लागि निकै कष्टकर रहेपनि त्यसपछि भने सडकमा समस्या आउन नदिनेतर्फ आयोजना थप जिम्मेवार भएर अघि बढ्नु पर्ने आम यात्रुहरुको माग रहेको छ ।

Logo