टर्की आक्रमणका कारण सिरियामा १ लाख व्यक्तिले घर छोडे : राष्ट्रसंघ

सिरिया,

उत्तरपूर्वी सिरियामा टर्कीले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रमा बसोवास गर्दै आएका करिब १ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले बताएका छन् ।

सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षा बलबीच जारी यस झडपमा दुबैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (एचसीएचआर) ले जनाएको छ ।

सीमानामा पर्ने दुबै शहरहरुमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले टर्की यात्रा गरेका छन् । लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नु अघि नै योजना बनाइएको थियो ।

उनको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो । उनले सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गरेका छन् । लोकोकले सबै पक्षहरुलाई संयम ब्यबहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेस्को अपील दोहोर्याएका छन् ।

टर्कीले जारी राखेको यस अभियानका क्रममा गत दुई दिन यता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानव अधिकार कार्यालयहरुले जनाएको छ । युद्धका पक्षहरु र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनु पर्छ र विशेषगरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनु पर्ने उक्त कार्यालयले जनाएको छ ।
एजेन्सी