विभिन्न सवारी दुर्घटनामा २ जनाको मृत्यु
File Photo

कैलाली,

कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ ।

शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से ७ प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

गाडीबाट खसेर एकको मृत्यु, दुई चालक प्रहरी नियन्त्रणमा

यता रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायात प्रालिको बा ३ ख ५२१६ नंको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना ७ ख २०५८ नंको फोर्स गाडीका धनी हुन् । लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासि सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनुभयो ।
रासस