सी जिनपिङ सहभागी राजकीय भोजको रौनक (फोटोफिचर)

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि शनिबार काठमाडौं आएका छन् ।

सी को सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार रात्रिभोजको आयोजना गरेकी थिइन् ।  भोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

रात्रिभोज कार्यक्रममा सम्बोधन गर्दै  चिनियाँ राष्ट्रपति सी ले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका थिए ।

राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताएका थिए ।

रात्रिभोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताइन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको बताउँदै भण्डारीले भनिन्, ‘नेपाल–चीन सम्बन्ध सागरझैं गहिरो र सगरमाथा जस्तै उच्च छ।’

राष्ट्रपति सी संगै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय महानिर्देशक समेत रहेका डिंग सुईसियाङ, सीपीसी महासचिव एवं पूर्व विदेशमन्त्री तथा स्टेट काउन्सिलर रहेका याङ जेइछी, विदेशमन्त्री वाङ यी, राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही लिफेंग र टोलीमा सीपीसी विदेश विभाग प्रमुख सोङ थाओ नेपाल आएका छन्।

आज प्रधानमन्त्री ओलीसँग हुने दुईपक्षीय वार्तामा दर्जन बढी सम्झौता र सहमतिमा हस्ताक्षर हुने भएको छ ।