केपी ओली भन्छन्- गोलघरमा छँदा चुरोटको खोलमा कविता लेख्थेँ

केपी ओली भन्छन्- गोलघरमा छँदा चुरोटको खोलमा कविता लेख्थेँ


पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् । 

पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका उनले भने, “गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।”

अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गरे । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले सुनाए ।

विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा पूर्वप्रधानमन्त्री ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो । “जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरहेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ”, ओलीले भने, “जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।”

भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ । “सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो”, उनले भने, “जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।”

पूर्वप्रधानमन्त्री ओलीले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको उल्लेख गरे । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताए । उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताए ।

पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताए । उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि ? भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखे । “काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन”, उनले भने । 

फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताए । “निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो”, उनले भने । 

Skip This
Logo