टिष्टुङमा १२ वर्षे नाचको रौनक (भिडियो रिपोर्ट)

  • रामजी बलामी- 

मकवानपुरस्थित थाहा नगरपालिका वडा नम्वर ६ मा पर्ने टिष्टुङमा ऐतिहासिक महत्वको १२ वर्षे नाचको रौनक चलिरहेको छ।

गत बैशाख २६ गतेबाट नचाउन शुरु गरिएको यो नाच अहिले विभिन्न टोलहरुमा नचाउने क्रम जारी छ । विभिन्न सातवटा खटमा नचाइने यो नाच तान्त्रिक विधिबाट नचाइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रवाराही र वेतालाई प्रस्तुत गरिन्छ । यो नाच एउटा खटमा दुइ रातसम्म नचाइन्छ ।

देवताहरुसँगै राजाहरुको कथा समेटिएको अर्काे नाच पनि देखाइन्छ । यो नाच राजा समर सेनका छोरा सतलसेनको कथामा आधारित रहेको छ । यो नाचमा ९९ जना भन्दा बढी कलाकारले रातभर प्रस्तुती दिने गर्छ ।

बाहवर्षे नाचका पात्रहरुमा पाँचौं देवी गण (गणेश, कुमारी, इन्द्रायणी, बाराही, भैरवी), गणेशको दाखनी बस्ने गण, ख्याक (कालो) भैरवको बायाँ बस्ने गण, महादेव, पार्वती, गंगा, विष्णु, लक्ष्मी, सरस्वती, कर्मध्वज राजा, रानी, मन्त्री, सखी, सिपाही, कटुवाल, वीरध्वज राजा, रानी, मन्त्री, सखी, सिपाही, कटुवाल, शिकारी गण (सर, चंख, बन, वीर), खड्गी, दोला (देउला), मालिनी, परी, बिना, सिना, घाटे, मुद्रा राक्षस, राक्षसकी श्रीमती, मृग, बाघ र कुकुर रहन्छन् ।

रातभर काम्दै नाच्ने देवताहरुलाई बिहानपख बलीपूजा गरेर नाच समापन गरिन्छ ।

यो नाच नचाउनका लागि धामी र कजीहरुको मुख्य भूमिका हुन्छ । यो नाच टिष्टुङको पाल्चोक, थहचोक, लिलाखेल, कुन्छाल, कुलगाउँलगायतका ठाउँहरुमा देखाइन्छ । नाच हेर्न टिष्टुङका विभिन्न ठाउँसहित काठमाडौं, हेटौडा, पालुङ, चित्लाङलगायतका ठाउँहरुबाट सर्वसाधारण त्यहाँ पुग्ने गर्दछन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट

ताजा समाचार

टिष्टुङमा १२ वर्षे नाचको रौनक (भिडियो रिपोर्ट)