राष्ट्रपतिले दिएको समय आज अपराह्न सकिँदै, गठबन्धन अझै अनिणित

राष्ट्रपतिले दिएको समय आज अपराह्न सकिँदै, गठबन्धन अझै अनिणित


राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै छ । 

दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

गठबन्धन दलबीच अहिलेसम्म भएका छलफलमा सरकार गठनबारे ठोस प्रगति भएको छैन । शनिबार साँझ बसेको गठबन्धनको बैठक पनि निष्कर्षविनै सकिएको थियो । तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री हुने सहमति अनौपचारिक सहमति जुटेको नेताहरूले बताएका छन् । तर पहिलो देउवा कि प्रचण्ड भन्ने टुंगिएको छैन ।

नेताहरूका अनुसार आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ । सरकार गठन र प्रधानमन्त्रीबारे आइतबार बिहान बस्ने बैठकले टुंगो लगाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।प्रतिनिधिसभामा २७५ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि संसदमा १३८ सांसद आवश्यक पर्छ । निर्वाचनको परिणामअनुसार पहिलो दल नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको छ । एमालेको ४४ प्रत्यक्षसहित ७८ र माओवादी केन्द्रको प्रत्यक्षमा १८ सहित ३२ सिट छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२ सिट जितेको छ । एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादीले ४ सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक र पाँच जना स्वतन्त्र प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा कुनै दलको एकल बहुमत नआएकाले अब दुई वा दुईभन्दा बढी राजनीतिक दलले बहुमत दाबी गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नेछिन् । 

Logo