नेपाल टी-२० लिगः लुम्बिनी अलस्टार्सको लगातार दोस्रो जित

नेपाल टी-२० लिगः लुम्बिनी अलस्टार्सको लगातार दोस्रो जित


नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर सुपर किङ्समाथि लुम्बिनीले ३ रनको जित निकालेको हो । 

१५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमै समेटिएको हो । विराटनगरका लागि हुसैन तालतले सर्वाधिक ३९ रन जोडे । साथै रोहितकुमार पौडेलले २५ रन, प्रिथु बास्कोटाले १८ रन, सिकन्दर राजाले  १७ रन तथा कप्तान आन्द्रे एमसीकार्थीले ११ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको थियाे । लुम्बिनीका ओपनर मिलान्थाले अविजित ८० रनको उत्कृष्ट इनिङ खेले । उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो । साथै कुशल भुर्तेलले २६ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १६ रन जोडेर पेभेलियन फर्किएका थिए भने बिपुल शर्माले ११ रन जोडे ।  

बलिङतर्फ विराटनगरका कप्तान आन्द्रे माकर्थी, सिकन्दर राजा, शाहब अलाम र हुसन टलतले समान एक विकेट लिए ।

लगातार दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । लुम्बिनीले पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमै परािजत भएको छ । 

Logo