प्रधानमन्त्री ओलीको विदेश यात्रा तय, कात्तिक ७ मा अजरवैजान जाने
file photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरवैजान जाने भएका छन् । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरवैजानको राजधानी बाकुमा अक्टोबर २५–२६ (कात्तिक ८–९) मा हुँदैछ । त्यसअघि अक्टोबर २३–२४ मा मन्त्रिस्तरीय बैठक बस्नेछ ।

नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्ये संस्थापक देश हो । बाकु शिखर सम्मेलनबाट अजरबैजानले आगामी तीन वर्षका लागि असंलग्न राष्ट्रहरुको अध्यक्षता गर्नेछ ।

यसअघि २०७३ मा भएको १७ औं शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा नेपाली टोली भेनेजुएला गएको थियो । शिखर सम्मेलन भेनेजुएलाको मार्गरिता टापुमा आयोजना गरिएको थियो ।