चीनबाट अनुभव र कामहरू सिक्न चाहेका छौंः रक्षामन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्र्दभमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभवन र कामहरु सिक्न चाहेको बताए ।

नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।

भ्रमण हुनु पुर्व कतिपयले चीन सरकारसँग केके माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।

उनले भने, “कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौ हामी सपिङ लिस्ट लिएर बसेका छैनौ । हामीले परिर्वतित सन्र्दभमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी पर पर पुर्याउन चाहन्छौ । ”

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।