आगजनीबाट नवनिर्मित वडा कार्यालय ध्वस्त, ५ जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका ५ को वडा कार्यालयमा भएको आगजनीबाट नवनिर्मित चारकोठे भवन ध्वस्त भएको छ । उक्त भवन करिव १४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आगजनीमा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय पालुङ्बाट खटिएको टोलीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सानो फाखेलका ४ जना र कैलालीका एक जना रहेका छन्।  उनीहरुमाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन।

आइतबार  राति करिव साढे ११ बजे लागेको आगो स्थानीयले निभाएका थिए । भवनमा पेट्रोलियम पदार्थ छर्केर आगजनी गरिएको वडा सदस्य चमेली वाइबाले जानकारी दिइन्। वाइबाले कार्यालयमा भएका सम्पूर्ण समानहरु जलेर नष्ट भएको  बताइन् ।

कार्यालयमा आगजनी भएपछि आजदेखि कामकाज ठप्प भएको छ।

थाहानगरमै यस अघि  बा ३ क १२१५ नम्बरको टिप्पर र ना १ क ३२४२ नम्बरको एक्स्काभेटरमा आगजनी गरिएको थियो ।