जहाज ‘डिले’ भएपछि सांसदको आक्रोश, गरे एयरपोर्टमै तोडफोड

जनकपुरधाम । जहाज ‘डिले’ भएको आक्रोशमा एक सांसदले विमानस्थलमा तोडफोड गरेका छन् । जहाज डिले भएको रिसमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलको कार्यालयमा रहेको बुद्ध एयरको काउण्टर तोडफोड गरेका हुन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । ११ः४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि सांसद् साह निकै आक्रोशित बनेका थिए ।

व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा उनले बुद्ध एयरको काउण्टरमा नै धक्का–धक्की दिएका हुन् । जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने तर जहाज आउने, नआउने कुनै सूचना नदिइएपछि रिसको झोकमा सामान्य तोडफोड गरिएको सांसद साहले स्वीकारेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका ४ का ६५ वर्षीय सौखीलाल चौधरीलाई काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत अटेरी गरेको उनको आरोप छ ।

किड्नीका विरामी पीडाले छटपटाइरहेको अवस्थालाई देखेर म आक्रोशमा आए र धक्कामुक्की भयो’ उनले भने । किड्नीका विरामी चौधरीले आफू बिहान ११ बजे नै आए पनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीले कुनै वास्ता नगरेको र आफूलाई गाह्रो भइरहेको अवस्थामा सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताए ।

बुद्ध एयरका प्रमुख विजय कुमार सिंहले प्राविधिक कारणवश विमानमा ढिलाइ भएको बताए । उनले यात्रुहरुलाई प्ले डिले भएको पटक–पटक जानकारी गराउँदै आएको तर सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोडसँगै कर्मचारीसँग दुव्र्यवहार गर्न पुगेको बताए ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोही फ्लाइटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।

त्यस क्रममा सांसद साह र प्रमुख सिंहबीच हात हालाहाल समेत भएको थियो । पछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं गएका थिए ।