चितवनमा उपनिर्वाचन : काङ्ग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस

चितवन ,

नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत हुन् । यस्तै सोही नगरपालिका–५ को अध्यक्षमा प्रतिमा बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उम्मेदवारका लागि सिफारिस बस्नेत स्वर्गीय वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् । यी दुवै नामलाई काङ्ग्रेस वडा समितिले सर्वसम्मतरूपमा जिल्लामा सिफारिस गरेको छ ।

यी दुवै वडामा काङ्ग्रेसले विजयी हासिल गरेको थियो । केही वर्षअघि रत्ननगरबाट खैरहनीतर्फ फर्किने क्रममा रत्ननगरको शान्तिचोकमा भएको दुर्घटनामा परी वडा नं ४ का तत्कालीन अध्यक्ष नरेन्द्र अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको निधन भएको थियो ।

यस्तै काङ्ग्रेसले भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षका लागि पनि उम्मेदवार तय गरेको छ । काङ्ग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको छ । केही महीना अघि सो वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय गुरुङ तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वा्चित भएका थिए । उनले काङ्ग्रेसका उम्मेदवार अमृत हमाललाई पराजित गरेका थिए । अहिले काङ्ग्रेसले पुनः हमाललाई नै उम्मेदवारका लागि सिफारिस गरेको हो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले उपनिर्वाचनका लागि तीनवटै वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवारको नाम सिफारिस गरेकोले सोही नामहरु अनुमोदन हुने बताए । ‘वडाबाटै सर्वसम्मत नाम आएपछि विवादको विषय नै नरहने, सिफारिस व्यक्तिलाई नै काङ्ग्रेसले उम्मेदवार बनाउँछ ।’ सभापति श्रेष्ठले निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार नै काङ्ग्रेसले उम्मेदवारको नामावली औपचारिकरूपमा घोषणा गरिने बताए ।

राजधानीबाट