जापानमा हिमपातका कारण १७ जनाको मृत्यु

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु


जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ जापानी अधिकारीले सोमबार बताएका छन् । हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छभने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात भएको छ ।

भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।

सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएका छन् ।

राष्ट्रिय टेलिभिजन प्रसारक (एनएचके)का अनुसार मृतकमध्ये हिउँ सफा गर्ने क्रममा छतबाट खसेका एक पुरुष र कारमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण मृत फेला परेकी एक महिला पनि रहेका छन् ।

होक्काइदोमा हिउँका कारण हालैका दिनहरूमा दशौँ हजार घरहरूमा विद्युतका लाइनहरू ढलेका छन्, यद्यपि अधिकांश जडानहरू अहिले पुनः स्थापित भएका छन् । -एएफपी

Logo