नयाँ सभामुख बनाउन नेकपाभित्र गृहकार्य शुरु

काठमाडौं,

रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त छ ।

सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो । सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ । पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् ।

सो पदका लागि आकांक्षीहरूले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब बन्ने सभामुखबारे बहस पनि सुरु भएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट भएका थिए । महराको पछिल्लो घटनाले नेकपालाई सभामुख फेर्न सहज भएको नेकपाका नेताहरू नै बताउँछन् । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् ।

उता, अर्का अध्यक्ष दाहाल पनि नेम्वाङप्रति सकारात्मक छन् । तर, उनीमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दबाब बढी छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन् । नेकपाबाट अहिले उपसभामुख डा शिवमाया तुम्वाहाम्फे छिन् । नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।
राजधानीबाट