देउवाको लोभ र प्रचण्डको अस्थीर स्वभावका कारण गठबन्धन विघटन

देउवाको लोभ र प्रचण्डको अस्थीर स्वभावका कारण गठबन्धन विघटन


नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदारीमा सम्मानजनक व्यवहार नदेखाउँदा पाँचदलीय गठबन्धन टुटेको छ । सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पहिलो कार्यकाल सरकारको नेतृत्व दिन नमान्दा गठबन्धन टुटेको हो ।

प्रधानमन्त्रीको को बन्ने भन्ने विषयमा देउवा र दाहालबीच लामो समय रस्साकस्सी चलिरहेको थियो । जसरी पनि प्रधानमन्त्री भैछाड्ने लक्ष्य लिएका प्रचण्ड धेरै विकल्पका साथ अघि बढेको देखिएको छ । छलफलहरुका क्रममा देउवाले प्रधानमन्त्री पद नछाड्ने अडान दोहोर्याएपछि प्रचण्डले एमालेसँग सहकार्यको हात अघि बढाएका थिए । फलस्वरुप पाँचदलीय गठबन्धन पनि टुट्यो । र एमाले नेतृत्वमा सातदलीय नयाँ सत्ता समीकरण बन्न सफल भयो । 

आलोपालो प्रधानमन्त्री लिने शीर्ष नेताहरुबीचको सहमति विपरित देउवाले एकलौटी गर्न थालेपछि गठनबन्धनमा सहमतिको वातावरण बन्न नसकेको हो । निर्वाचनपछि माओवादीले पहिलो र नेपाली कांग्रेसले दोस्रो कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको बताइएको छ । दाहाल र देउवाबीच शक्ति बाँडफाँटमा सहमति भइसकेको भएपनि पत्नी आरजु राणाले देउवालाई प्रधानमन्त्री पद नछाड्न दबाब दिएका कारण पाँच दलीय गठबन्धन टुटेको पनि कतिपयले बताउने गरेका छन् । 

माओवादी अध्यक्ष दाहाललाई एमालेको साथ हुन्न भन्नेमा काँग्रेसका नेताहरु ढुक्क भएका कारण पनि गठबन्धन भत्किएको भनाइ छ । एमालेको साथ नपाउने भएपछि हदैसम्म निचोर्नु पर्छ भन्ने काँग्रेस नेतृत्वको बुझाइ र व्यवहारले पनि गठबन्धन टुटेको बताइएको छ । छलफलमा असहमति जनाउँदै प्रचण्ड बालुवाटारबाट निक्दिासम्म पनि देउवालाई सत्ता जानेमा कुनै डर थिएन । प्रचण्डलाई आइतबार साँझसम्म अल्मल्याउने र समय घर्की सकेपछि धारा ७६(३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने चाहना राखेका कारण पनि गठबन्धन चिप्लिएको कतिपयको बुझाइ छ । 

यता माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री भैछाड्छु भन्ने हठले पनि गठबन्धनमा विश्वासको वातावरण बन्न नसकेको बताइएको छ । 

अर्कोतिर जसरी पनि गठबन्धन भत्काइ छाड्ने एमालेको चाहनाले पनि काम गरेको छ । एमालेका नेताहरुको भित्री योजना पनि त्यही रहेको र प्रचण्डलाई मात्र गठबन्धन बाहिर ल्याइ सहकार्य गर्ने काम भएको देखिएको छ । 

नेपाली कांग्रेसभित्रै पनि शेरबहादुर देउवालाई असफल बनाउने उद्धेश्यले काम गरेको पनि कसैकसैले बताउने गरेका छन् । पार्टीभित्र प्रभाव विस्तार गरिरहेका सभापति देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि सहयोग नरहेको देखिएको छ । अर्का नेता शेखर कोइराला पनि सभापति देउवालाई असफल बनाउने बहाना खोजीरहेको र यसैक्रममा वामपन्थीहरुसँगको गठबन्धन सैद्धान्तिक हिसावले उपयुक्त नहुने बताइरहेका थिए । 

गठबन्धन टुटेसँगै यसको धेरै असर सभापति देउवा माथि परेको छ । उनलाई पार्टी सभापति तथा संसदीय दलको नेताबाट राजीनामा दिन समेत दवाव बढ्दै गएको छ । गठबन्धनको विघटनपछि झण्डै एकलौटी पाराले सत्ताको स्वाद लिइरहेको काँग्रेसभित्र चरम असन्तुष्टि बढेको छ ।

Logo