पद सम्हाल्दै भौतिकमन्त्री श्रेष्ठले भने- ‘भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गर्छु’

पद सम्हाल्दै भौतिकमन्त्री श्रेष्ठले भने- ‘भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गर्छु’


नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् । 

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन् । उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गरे । उनले जनताले कानूनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए । 
 
उनले भने– ‘यस अघि भएका सबै सकारात्मक कामहरुलाई आत्मासात गर्दै त्यसलाई निरन्तरता दिदैँ जहाँ–जहाँ कमजोरीहरु छन्, समस्याहरु छन् । त्यो कमजोरीलाई सच्याउने, समस्याहरुलाई समाधान गर्ने र समृद्धिमा फड्को मार्नु हो । त्यसो गर्दाखेरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई कडाइपूर्वक रोक्नु यसको पहिलो काम हुन्छ । जनताले कमसेकम संविधान, कानून र नियम अनुसार हुनुपर्ने काम भनसुन नगरीकन, घुस नखुवाइकन हुने दिन हामीले दिनुपर्छ । त्यसपछाडी मात्रै हामीले अरु परिवर्तन जनतालाई दिनुको अर्थ रहन्छ । जनताले पहिले त्यो अपेक्षा गरेको छ । त्यसपछाडी जनताको जिवनमा परिवर्तन हुनेगरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनुपर्ने हुन्छ ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरु र आफू अनुकुल ऐन, कानूनहरु बनाउनेहरुको दिन गएको बताए । जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको पनि मन्त्री श्रेष्ठले स्पष्ट पारे ।

Logo