पारसको राजीनामाले म आफैं सक्ड परेको छुँः मुख्य प्रशिक्षक टमाटा
"पारसको निर्णय राम्रो त पक्कै होइन: उपकप्तान मल्ल"

काठमाडौं । पारस खड्काले कप्तानीबाट राजीनामा दिएकोप्रति राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले चित्त दुखाएका छन् । पारसको राजीनामालाई लिएर आफु निकै सक्ड भएको उनको प्रतिक्रिया छ । कप्तान खड्काले क्यानको नव निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्न सुझाउँदै कप्तानी त्यागेको घोषणा गरेका छन् ।

पारसले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका थिए । उक्त घोषणापछि आफु पनि आश्चर्यमा परेको टमटाको भनाई छ ।

‘म आफैं सक्ड भएको छुँ । यस्तो कठिनाइको घडीमा राजीनामा दिनु एकदमै गलत हो । कमसे कम एक वर्षअघि देखि जानकारी गराएको राम्रो हुनेथियो ।’ केन्द्रबिन्दुसँगको टेलिफोन सम्पर्कमा टमटाले भने ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेको भोलिपल्ट पारसले राजीनामा दिएपछि प्रमुख प्रशिक्षक टमटाले यो राजीनामा दिने बेला नभएको बताए ।

अर्को खेलाडी कप्तानको लागि तयार हुँदा सम्मको लागि भए पनि पारसले नेतृत्व सम्हाल्नुपर्ने उनको भनाइ छ । ‘एकाएक यसरी राजीनामा दिएपछि हामी सबैको लागि राम्रो होइन् । अर्को खेलाडी नेतृत्व लिन तयार हुँदा सम्म उहाँले कप्तानी छोड्नु राम्रो होइन् ।’ उनले भने ।

पारसको राजीनामा दिएको विषयमा क्यानमा छलफल हुने उनको भनाइ छ । क्यानले राजीनामाको विषयमा आवश्यक निर्णय लिनेमा उनी विश्वस्त छन् । क्यानले राजीनामाको विषयमा पारससँग आग्रह गर्दै एक वर्षको लागि अस्वीकृत गर्न सक्ने उनको भनाइ छ ।

‘क्यानमा यस विषयमा छलफल हुन्छ । पारसलाई राजीनामा फिर्ता लिन आग्रह गर्छौ । कमसे कम अर्को खेलाडी तयार नहुँदासम्म त उहाँले नै नेतृत्व सम्हाल्नुपर्ने हुन्छ ।’ टमटाको भनाइ छ ।

पारसको राजीनामाको विषयमा कोच समेत अनविज्ञ देखिएका छन् । प्रशिक्षक टमटाले पारसको राजीनामा विषयमा कोचसँग बुझ्दा आफुलाई समेत जानकारी नभएको बताएका थिए ।

यता उपकप्तान ज्ञानेन्द्र मल्लले पारसको कप्तानी छोड्ने निर्णय सही नभएको प्रतिक्रिया दिएका छन् । आफ्नाबारे निर्णय गर्ने अधिकार पारसलाई भएपनि यो सही नभएको उनको भनाइ छ । ‘पारसको निर्णय राम्रो त पक्कै होइन’ मल्लले भने,’उनको निर्णय हो । त्यसको सम्मान गर्नै पर्छ ।’

पारस खड्काले दिए कप्तानबाट राजीनामा