अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग आज बिहान भएको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । महासंघको पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए ।

अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएका सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने वचनसमेत दिएका थिए । 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सन्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैकिङ समस्याको कारण उद्योगी  व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको भन्दै उनले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री बनेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समग्र निजी क्षेत्रको तर्फबाट गोल्छाले बधाई एवम् शुभकामनासमेत दिएका थिए ।

Logo