राजीनामाबारे पारसले भने, ‘अब मेरो निर्णय उल्टिने छैन’
"राष्ट्रिय टिमबाट क्रिकेट खेल्ने/नखेल्ने क्यानको निर्णयमा भर पर्ने "
फाइल तस्बिरः स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तानबाट राजीनामा दिएका पारस खड्काले आफ्नो निर्णय सहि भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेपछि बालुवाटारस्थित रोयल एम्पायर होटलमा आयोजित पत्रकार सम्मेलनमा पारसले आफ्नो निर्णयबाट पछि नहट्ने बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, अब मेरो निर्णय उल्टिने छैन । हुन सक्छ, म खेल्न भने सक्छु।

कप्तानबाट राजीनामा दिएपछि नेशनल टोलीको तर्फबाट खेल्न नखेल्ने क्रिकेट संघको हातमा भर पर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानमाथिको निलम्बन फुकुवा गरेको भोलिपल्टै पारसले पद छाड्ने निर्णय लिएका छन् ।

‘म यही निर्णयको प्रतिक्षामा थिएँ । सँधैभरि मैले खेलेर मात्र हुँदैन। १० वर्ष टिमको नेतृत्व गरेँ । नयाँ र सहज वातावरणमा नयाँलाई जिम्मेवारी दिनुपर्छ भन्ने सोच मेरो थियो। मैले रातारात निर्णय लिएको होइन । नेपाली क्रिकेटले फ्रेस स्टार्ट गरोस् भनेर ठाउँ छाडेको मात्र हो ।’ पारसले भने।

सन् २००४ मा सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका पारसले त्यसको पाँच वर्षपछि कप्तानी गर्ने मौका पाएका थिए । उनले कप्तानी सुरु गरेको एक वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा छलाङ मार्न सुरु गरेको थियो ।

यसबीचमा नेपाल वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभबाट वानसम्म पुगेको थियो । त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाएको थियो भने टीट्वेन्टी विश्वकप पनि खेलेको थियो । मंगलबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेर कप्तान छाडेको घोषणा गरेका थिए । पारसले कुनै एक व्यक्तिलाई हेर्ने भन्दा पनि समग्र विकासमा ध्यान दिनुपर्ने र त्यही मान्यतालाई आफूले आत्मसाथ गरेको बताए।

‘पारस खड्का नेपाली क्रिकेट होइन। यहाँ कप्तान को भयो, क्यान अध्यक्ष को भयो भन्ने चासो बढी हुन्छ। तर हामी व्यक्तिभन्दा बाहिर जानैपर्छ । मैले कप्तानी गर्ने अवसर पाएँ र त्यसलाई इमान्दारितापूर्वक निर्वाह गरेँ। सही समयमा सही निर्णय गर्दा आज यहाँसम्म आइपुगिएको छ ।’ पारसले भने । ‘आज पारस खड्काले खत्रा गर्‍यो, सन्दीप लामिछानेले खत्रा बलिङ गर्‍यो भनेर चर्चा हुन्छ होला । भोली हाम्रो ठाउँमा अरु आउन सक्छ। त्यसैले व्यक्तिभन्दा बाहिर जानुपर्छ।’

अब कप्तानको जिम्मेवारी ज्ञानेन्द्रलाई दिनुपर्ने
पारसले अब कम्तानीको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिनुपर्ने सुझाव दिएका छन् । अनुभवको हिसाबले अबको एक वर्ष कम्तीमा ज्ञानेन्द्रलाई नै कप्तानीको जिम्मेवारी दिइनुपर्ने उनको तर्क छ ।