मान्छे मर्दा नाँचगान गर्ने, अचम्मको पर्व पितरा (भिडियो सहित)

  • ज्ञानमणि नेपाल कालोटोपी,
    चण्डेनीमण्डन,काभ्रे,

नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृती र परम्परा छन् । यस मध्ये एक हो माझी जाती । जसको आफ्नै पहिचान जोगाउने संस्कृती पितरापर्व अहिले पनि प्रचलनमा छ ।

धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाईरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझि जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकाले पछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन । यो जातीमा परम्परादेखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका रामकृष्ण माझीले बताए । यो परम्परा कहिले देखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवाहरु देखि वृद्धहरु सबैको एकमत रहेको पाईएको छ ।

विभिन्न जात्रा र पर्वका आआफ्नै किंवदन्ती रहेको पाइन्छ । यस्तैमा पितरापर्वको पनि आफ्नै किंवदन्ती छ । जस अनुशार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेऊमा आईपुगेछन् । नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक जना माझीलाई आफूहरुलाई नदी पार गराईदिन अनुरोध गरेछन् । उक्त माझिले पनि नदी पार गराईदिएछ । महादेव र पार्वतीले खुशि भएर तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सोझै स्वर्ग पुग्छौ भनि वरदान दिएर गएछन् । त्यसैबेला देखि यो संस्कृतीको शुरुवात भएको स्थानिय माझी समुदायहरुले जानकारी दिए ।

देशभर छरिएर रहेका सबै ठाउँका माझिहरुले यो पर्व मनाउँदै आईरहेका छन् । प्रत्येक वर्ष विजयादशमीको भोलीपल्ट र तिहारको भाईटीकाको भोलीपल्ट यो पर्व मनाउने गरिएको माझीहरुले बताए । यो उनीहरुको संस्कृती नै भएपनि सबैले मनाउनु पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यहि घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य छैन ।

यसवर्ष काभ्रेको मण्डनदेउपूर १० चण्डेनीमण्डनस्थित ध्रुर्व माझीको घरबाट पितरा निकालिएको थियो । बुबाको निधन भएकाले पितरा निकालिएको उनले बताए । उनका घरमा हामी पुग्दा उनी पितरा निकाल्ने तयारी गर्दै थिए । हेरौं यो भिडियोमा :

मान्छे मर्दा नाँचगान गर्ने, अचम्मको पर्व पितरा (भिडियो सहित)