एक्सनमा उत्रे गृहमन्त्री रवि !

एक्सनमा उत्रे गृहमन्त्री रवि !


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको २४ घण्टा पनि नपुग्दै सुशासनको पक्षमा काम गराउन एक्सनमा उत्रिएका छन् । उनले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई फिर्ता गर्न ४८ घण्टाको अल्टिमेटम दिएका छन् । 

यदि कसैले प्रयोग गरेको वा गराएको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरित निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् । 'उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ'- विज्ञप्तिमा भनिएको छ। 

गृहमन्त्रीमा नियुक्ति भएसँगै यसलाई उनको पहिलो एक्सनको रुपमा लिइएको छ ।

लामिछानेले उपप्रधान मन्त्री एवं गृहमन्त्रीको रुपमा पद बहालीका क्रममा पनि निर्मला पन्तको हत्याका दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । उनले बिना भेदभाव काम गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउने प्रतिवद्धता पनि जनाएका छन् । राजनीतिमा आउनु अघि टेलिभिजन कार्यक्रम प्रस्तोता रहँदा विकृति र विसंगति विरुद्ध आगो ओकल्ने गरेका रविले अब भने सुशासन कायम गर्ने गृह मन्त्रालयको जिम्मेवारी नै सम्हालेका छन् ।

काम गर्ने ठाउँमा पुगेको र आधिकारिक व्यक्ति समेत भएकोले गृहमन्त्री लामिछानेले हिजो विभिन्न दलका नेताहरुलाई सिकाएको पाठ र अर्ति आफू स्वयंले पालना गर्छन् कि गर्दैनन्- आम नेपाली जनताले हेरेर बसेका छन् । २ दशक लामो सञ्चारकर्मपछि रवि लामिछाने रास्वपा नामक दल खोलेर सक्रिय राजनीतिमा आएका हुन् । युवा, राजनीतिमा नयाँ अनुहार र केही गर्ने जोश जाँगर भएको भनी मतदाताले यसपटक रवि र उनको २० सदस्यीय टीमलाई संसदमा पठाएको हो ।

Logo