बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी

बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी


बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा ठरिएका छन् ।

वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो । स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडीको अध्ययनमा आधारित सो प्रतिवेदनअनुसार यो वर्ष बितेका अन्य वर्षको तुलनामा केही चिसो वर्षका रूपमा गनिएकाले सन् २०२२ भने यसमा समेटिएको छैन । प्रतिवेदनअनुसार विगत १० वर्षमा कम्तीमा पनि एक डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ ।

सन् १९९३ देखि हालसम्म समुद्री सतहको दोब्बर वृद्धि भएको अर्को नयाँ रेकर्ड अध्ययनमा उल्लेख गरिएको छ । त्यस्तै युरोपेली आल्पस क्षेत्रमा अभूतपूर्व रूपमा हिउँ पग्लने सङ्केत पनि अध्ययनले गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै विश्व मौसम सङ्गठनका प्रमुख पिटर तालासले भने, “जति धेरै गर्मी बढ्यो, त्यति नै खराब असरहरू देखिन्छ ।” उनका अनुसार अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको यति उच्च स्तर छ कि पेरिस सम्झौतामा उल्लिखित १.५ डिग्री सेल्सियसमा त्यो अटाउन्न । बढ्दो तापक्रमका कारण हिमनदी र ताजा पानीको सुरक्षा गर्न ढिलाइ भइसकेको उनले प्रस्ट पारे । यस वर्षको अवस्था विश्लेषण गर्दै उनले चरम गर्मी र खडेरी, मौसम र जलवायुसम्बन्धी प्रकोपका कारण अर्बौं खर्च हुनुका साथै विश्वका लाखौँ मानिस प्रभावित बनेको औँल्याए ।

सबै भागमा गम्भीर अवस्था

वायुमण्डलमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड ग्यासको स्तर उच्च बनेकाले चिन्ताजनक रहेको अध्ययनले बताएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा तीव्र हिमगलन, बेमौसमी वर्षा कारण नेपालका विभिन्न भू–भागमा बाढीपहिरोको मार विगत केही वर्षयता दोहोरिँदो छ । त्यस्तै युरोपको हिमक्षेत्र आल्पसमा यस शताब्दीको सुरुवातदेखि हालसम्मको अवधिमा तीन–चार मिटरबीचको औसत मोटाइको क्षति रेकर्ड भएको छ ।

त्यस्तै स्विट्जरल्यान्डमा गर्मीको मौसममा सबै हिउँ पग्लिएको थियो । यस्तो घटना इतिहासमा पहिलो पटक भएको अनुमान गरिएको छ । त्यस्तै विभिन्न देशमा हिमनदीको बरफको मात्रा एक तिहाइभन्दा बढीले घटेको अध्ययनले जनाएको छ । अध्ययनअनुसार विश्वभरि बढ्दो बरफ पग्लिने क्रमले पछिल्लो ३० वर्षमा समुद्रको सतह द्रुत बढेको छ । विगत दुई दशकमा समुद्रको तापक्रमको दर असाधारण रूपमा उच्च भएको छ । सामुद्रिक तापको लहरहरू लगातार बढ्दै गएका छन् र यो दर भविष्यमा जारी रहनेछ ।

अध्ययनले खडेरी र अत्यधिक वर्षा दुवैको प्रभावको विश्लेषण गरेको छ । जसअनुसार औसतभन्दा कम वर्षाका कारण केन्या, सोमालिया र इथियोपियाले बाली विनाश हुने र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । उच्च वर्षाका कारण पाकिस्तानको एक तिहाइभन्दा बढीमा यसै वर्ष जुलाई र अगस्टमा उच्च बाढी आएको थियो । जसमा आठ लाख मानिस विस्थापित भएका थिए । दक्षिणी अफ्रिका क्षेत्र वर्षको सुरुमा दुई महिनामा चक्रवातहरूको शृङ्खला दोहोरियो ।

मादागास्कर भारी वर्षा र विनाशकारी बाढीको चपेटामा पर्‍यो । सेप्टेम्बरमा इयान चक्रवातले क्युबा र दक्षिणपश्चिमी फ्लोरिडामा जनधनको क्षति गरायो । युरोपका ठूला भागमा चरम गर्मी दोहोरियो । बेलायतले यसै वर्ष ४० डिग्री उच्च तापक्रमको चाप इतिहासमा पहिलो पटक भोग्यो ।     

Skip This
Logo