विमानस्थलमा तोडफोड गर्नेलाई ५० हजार जरिवाना
"उक्साउने महिलालाई २५ हजार"
फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापालाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

जरिवाना तिरेसँगै थापा थुनामुक्त भएका छन् । अध्यागमन विभागमा शनिबार उनले तोडफोड गरेपछि पक्राउ परेका थिए । विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको विभागका महानिर्देशक ईश्वरराज पौडेलेले जानकारी दिए ।

थापालाई उक्साउने र अश्लील व्यवहार गर्ने अर्को एक जना महिलालाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । थापासँगै आएकी उषाकिरण वरियालाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

थापासहित पाँच जना अष्ट्रेलियाबाट नेपाल आएका थिए । नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । तर, लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएका थिए ।