३४ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले जित्यो स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले बेलायतमा स्वर्ण पदक जितेको छ । असोज २४ बाट बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०१९’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको हो ।

उक्त अभ्यासमा बेलायती सेनाको तर्फबाट १०६ र नेपालसमेत अन्य ३४ देशका गरी १४० सैन्य टोलीको सहभागिता रहेको थियो । नेपाली सेनाका अनुसार उक्त अभ्यासमा सबैभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै सेनाले स्वर्ण पदक जितेको हो ।

सेनाका प्रमुख सेनानी अशीमदेव गुरुङको नेतृत्वमा गएको १० जनाको टोलीले सैन्य अभ्यासमा उत्कृष्ठ प्रदर्शन गर्दै स्वर्ण पदक जितेको हो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गर्दै गरिने सैन्य अभ्यासमा नेपाल उत्कृष्ठ भएको हो ।

यसमा शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन गरिने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अत्यन्तै कठिन भौगोलिक क्षेत्रमा गरिएको उक्त अभ्यासमा सहभागी सैनिकले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरणसहित ५० किलोमिटरको दूरी पार गरेका थिए ।

उक्त अभ्यासमा बेलायती फौजीका १०६ र नेपालसहित अन्य ३२ देश गरी १४० सैन्य टोलीको सहभागिता रहेको थियो । अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौजी बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए । यस्तो अध्यास सन् १९६० बाट प्रत्येक वर्ष बेलायतमा हुँदै आएको छ ।