बालविवाह गर्ने बेहुला बेहुलीसहित सात जना पक्राउ

सल्यान,
बाल विवाह गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं. ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रहरी हिरासतमा छन् ।

बेहुली कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन् भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । आपसी सल्लाहले उनीहरु आइतवार घरबाट भागेका थिए । बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरमै औपचारिक रुपमा पण्डित बोलाएर बिहे गरिदिएका थिए ।

बालविवाह भएको सुचना पाए लगत्तै प्रहरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरबाटै पक्राउ गरि थुनामा राखेको छ । आवश्यक कारवाहीको लागि मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट