मकवानपुरमा बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

मकवानपुर । आपसी झगडाका क्रममा एक व्यक्तिले बञ्चरो प्रहार गरी एक महिलाको हत्या गरेका छन् । ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् ।

बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले बञ्चरो प्रहार गर्दै सन्तमाया लोको हत्या गरेका हुन् । पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो ।

उपचारका क्रममा त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको छ ।

पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरी घाइते बनाएका छन् । बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको छ ।

हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले घटनामा प्रयोग भएको बञ्चरोसहित पक्राउ गरेको छ । आपसी विवादका क्रममा रिसले आवेगमा आएका पाख्रिनले बञ्चरो प्रहार गरेका थिए ।