मन्त्रिपरिषद् पुर्नगठन तिहारपछि मात्र हुने

काठमाडौं । मन्त्रिपरिषद्को पुर्नगठन तत्काल नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल केही मन्त्रीहरूको हेरफेर गर्न लागेको चर्चा चलिरहेको बेला तत्काल मन्त्रीहरुको पुर्नगठन नहुने भएको हो । केही मन्त्रीहरुको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै पुर्नगठन गरिन लागेको हल्ला चलेपनि तत्काल नहुने देखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा छन् । उनी कात्तिक ६ मा मात्र स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति स्वदेश फर्किएसँगै प्रधानमन्त्री ओली कात्तिक ७ मा अजरबैजानको भ्रमणमा जानेछन् ।

असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरबैजानको राजधानी बकु जान लागेका प्रधानमन्त्री ओली कात्तिक १० मा स्वदेश फर्किनेछ । त्यो बेला तिहार शुरु भइसकेको हुनेछ ।

त्यसैले तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने नेकपा नेता माधवकुमार नेपालको भनाइ छ । एक कार्यक्रममा बोल्दै नेता नेपालले यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भए पनि तिहार अघि सम्भव नभएको बताए ।

नेता नेपालका अनुसार नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे कुनै छलफल वा निर्णय भएको छैन् । नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच पुर्नगठनबारे छलफल भएको हुनसक्ने तर सचिवालय बैठकमा छलफल नभएको बताए ।

पुर्नगठन भए पनि तिहारअघि कुनै हालत सम्भव नहुने उनको भनाई छ । २९ असोजमा बसेको नेकपा सचिवालय बैठकमा यस विषयमा छलफल भएको हल्ला फैलिएको थियो । उक्त बैठकबाट कार्यसम्पादन सन्तोषजनक नभएका मन्त्रिहरुको नामावली समेत फाइनल भइसकेको भन्ने समाचार बाहिरिएको थियो ।