हत्याराको बयान, ‘मलाई बेवास्ता गरेपछि आमा छोरीलाई मारेँ’
"विवाहेत्तर सम्बन्धले लियो आमाछोरीको ज्यान "

उदयुपर । सिराहको लहान नगरपालिका ८ का रामहरि साह एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्रियुगा नगरपालिका ९ चौकीबारीकी शारदाकुमारी चौधरीको प्रेममा रहेका साह पछिल्लो समय निकै तनावमा थिए ।

४० वर्षीय साह लामो समयदेखि ३० वर्षीया चौधरीको प्रेम सम्बन्धमा थिए । तर पछिल्लो समय चौधरीले साहको न फोन उठाउने नत राम्रोसँग बोल्ने गर्न थालिन् ।

श्रीमान सिताराम चौधरी बैदेशिक रोजगारीको लागि मलेसिया रहेका बेला साहसँग प्रेम सम्बन्धमा रहेकी चौधरी उनीसँग टाढिन खोजिन् । जसको लागि उनले साहको फोन पनि नठाउने र उनलाई बेवास्था गर्दै गईन् । त्यही रिसमा साहले चौधरीको हत्या गर्ने योजना बनाए ।

असोज २४ गते राति धारिलो हतियार प्रहार गरेर हत्या गरे । २५ गते बिहान घरभित्रै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको हत्या गर्दै उनी फरार भए ।

आमाछोरी बस्दै आएको घर । जहाँ दुवै जनाको हत्या भएको थियो ।

हत्यापछि साहले आमाछोरीको शव भर्‍याङमुनी घोप्टो पारेर फालेका थिए । साहले चौधरीको कोठामा भएका सुनको गरगहना कानमा लगाउने सुनको २ वटा बटारेको बेरुवा रिंग र पानको पात जस्तो आकारको पोते लुटेर गएका थिए ।

दुई छोरीसहित एक्लै बस्दै आएकी चौधरीको ठूली छोरी बहिनीले आफ्नो घर लगेकी थिइन् । शारदासँगको प्रेमका कारण परिवारको बहिष्कृतमा परेका साह घर छोडेर एक्लै मेतिगढमा पसल गरेर बस्दै आएका थिए ।

शारदासँगै विवाह गर्ने सोचमा रहेका साहले पछिल्लो समय आफुलाई वास्तै गर्न छोडेपछि हत्याको योजनामा पुगेका थिए । पछिल्लो समय शारदाले फोन नउठाउने, झर्केर बोल्ने र आफूलाई बेवास्ता गरेकाले हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । आमा छोरीको हत्यामा संलग्न रहेका साहलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

आमाछोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धानको लागि तालिमप्राप्त कुकुर समेत परिचानल गरेको थियो । तर कुकुर घटनास्थलबाट राजबास, सरस्वती खोला हुँदै मदन भण्डारी राजमार्गस्थित शाही खोलाको पुलसम्म पुगेर फर्किएको थियो ।