प्रदेश- १ मा सरकार गठनका लागि एमालेले दाबी पेस गर्ने

प्रदेश- १ मा सरकार गठनका लागि एमालेले दाबी पेस गर्ने


प्रदेश १ सभाका सबभन्दा ठूलो दल एमालेले शुक्रबारसम्ममा सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलबीच सहमति गरेर आउँदो शुक्रबारसम्ममा प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्ने बताएका हुन् । उनले यस प्रदेशमा एमालेको नै नेतृत्वमा सरकार गठन हुने बताए । सत्ता साझेदार दलबीच सरकार गठनका लागि औपचारिक रूपमा छलफल सुरू गर्नेसमेत उनले बताए ।

संघीय सत्तासमीकरण अनुसार प्रदेश १ मा एमाले, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी सरकारमा जाने देखिएको छ । प्रदेश- १ मा ४० स्थान प्राप्त गर्दै नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ । साथै नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । ९३ सदस्यीय यस प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भने प्रतिपक्षमा रहने देखिएको छ । 

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् । 

Logo