लक्ष्यभन्दा बढी पर्यटक भित्रिए २०२२ मा

लक्ष्यभन्दा बढी पर्यटक भित्रिए २०२२ मा


पछिल्लो एक वर्षमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या छ लाख नाघेको छ। पर्यटनको मूख्य सिजन मानिने अक्टोबर महिनामा सबैभन्दा बढी संख्यामा८८ हजार विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। नेपालमा निर्वाचनको तयारी भइरहेको समयमा पनि नोभेम्बरमा ७२ हजार पर्यटक नेपाल आए । यी सबै विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका पाहुना हुन् । भारत र चीनसँग सीमा जोडिएको नेपालमा सडकमार्गबाट पनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधार हुँदै गएको संकेत पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । सिजन अनुसार पर्यटन आगमनले गति लिएको आगमनको यो तथ्यांकले पनि पुष्टि गरेको छ । बोर्डका अनुसार पर्यटक आगमनमा हरेक महिना सुधार हुँदै गएको र आगामी दिनअझै बढ्ने देखिन्छ । कोरोनापछिको यो वर्षमा सरकारले नेपालमा कम्तिमा ५ लाख विदेशी पर्यटक भित्रिने प्रक्षेपण गरेको थियो । तर, सन् २०२२ समाप्त भएसँगै सरकारले अनुमान गरेको भन्दा १ लाख १४ हजार १ सय ४८ बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन नेपाली पर्यटनको लागि निकै नै खुशीको कुरा हो । 

बोर्डका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा वर्षभरिमा सबैभन्दा बढी झन्डै १२ लाख विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ को नोभेम्बरमा मात्र नेपालमा १ लाख ३० हजार विदेशी नेपाल भित्रिएका थिए। २०१९ को नोभेम्बरको तुलनामा यो नोभम्बरमा आगमनमा झन्डै ५६ प्रतिशत सुधार देखिएको बोर्डको भनाइ छ । विभिन्न हवाई गन्तव्यसम्म हवाई सञ्जालले गति लिँदै गएकोले पनि आगामी दिनमा अझै धेरै विदेशी पाहुना नेपाल भित्रिने बोर्डको अपेक्षा छ । कोरोना भाइरसले सबैभन्दा बढी अत्याएको सन् २०२० र २०२१ को नोभेम्बरको आमगन भने निकै नै कमजोर थियो। सन् २०२० र २०२१ मा पर्यटक आगमनमा प्रतिबन्धका कारण कुनै महिना शून्यमा समेत झरेको अवस्था थियो ।

कुन देशबाट कति पर्यटक ?
नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउने गर्छन् । यो वर्षभरीमा भारतबाट २ लाख ९ अजार एक सय पाँच अर्थात् कुल संख्याको ३४.०५ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ आउने गर्थे । तर, चीन सरकारले शून्य कोभिड नीति लिएर आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदा २०२२ मा चीनबाट ९ हजार ५ सय ९५ पर्यटक मात्र नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ ।

भारतपछि सबैभन्दा धेरै पर्यटक भित्रिनेमा अमेरिका र युके रहेका छन् । वर्षभरी अमेरिकाबाट ७७ हजार र युकेबाट ४४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, बंगलादेशबाट २५ हजार, श्रीलंकाबाट ४ हजार ५ सय, मलेसियाबाट ९ हजार ५ सय, दक्षिण कोरियाबाट ८ हजार २ सय, थाइल्यान्डबाट ९ हजार ८ सय, फ्रान्सबाट १६ हजार ८ सय, जर्मनीबाट १७ हजार ७ सय, नेदरल्यान्डबाट ७ हजार ५ सय, अस्ट्रेलियाबाट २६ हजार ८ सय, क्यानडाबाट ९ हजार ७ सय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

Skip This
Logo