राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी कायमै

राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी कायमै


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै अब राष्ट्रपति को बन्लान् भन्ने चासो बढेको छ। प्रधानमन्त्री पद माओवादीले लिएपछि नयाँ गठबन्धनको पहिलो दल नेकपा एमालेले राष्ट्रपति लिने पक्का छ। तर, एमालेबाट पनि को बन्ने भन्नेमा नाम टुंग्याउन नेतृत्वलाई सकस परेको छ । 

वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन केही समय मात्रै बाँकी छ । यो उनको दोस्रो कार्यकाल हो। संविधानको धारा ६४ मा दुई कार्यकालभन्दा बढी एकै व्यक्ति राष्ट्रपति बन्न नपाउने व्यवस्था छ । 

अहिले एमालेमा राष्ट्रपतिका उम्मेदवारको रूपमा विभिन्न विकल्पमध्ये पार्टी उपाध्यक्ष सुवास नेम्वाङको नाम चर्चामा छ। पटकपटक सभामुखको पद सम्हालिसकेका उनले पनि राष्ट्रपतिमा आफ्नो दाबी रहेको बताइसकेका छन् । 

नेम्वाङ २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका थिए ।  २०५१ सालमा न्याय कानुन तथा संसदीय राज्यमन्त्री बनेका नेम्वाङ कानुन मन्त्री बनेका थिए । उनी २०५६ सालमा प्रतिनिधि सभामा इलामबाट निर्वाचित भए ।  २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाका सभामुख बनेका थिए । 

त्यसपछि उनी २०६४ मा इलामबाट निर्वाचित भए । संविधानसभाको अध्यक्ष बने ।  २०७० सालको निर्वाचनमा समेत जितेका नेम्वाङ दोस्रो पटक पनि संविधानसभाका अध्यक्ष बने । गत वर्षको मंसिरमा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट उनी उपाध्यक्ष बनेका छन् । साथै गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी इलाम- २ बाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई हराउँदै निर्वाचित भएका छन् । उनले यसअघि नै अब सभामुख भने नबन्ने बताइसकेका छन् । 

राष्ट्रपतिमा एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली र नेता अमृत बोहोराको नाम पनि चर्चामा छ । तर, एमालेले राष्ट्रपतिका विषयमा औपचारिक छलफल भने सुरु गरेको छैन ।

Logo