आईपीएलमा मुख्य खेलाडीलाई खेल्न नदिने बीसीसीआईको निर्णय

आईपीएलमा मुख्य खेलाडीलाई खेल्न नदिने बीसीसीआईको निर्णय


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आसन्न इन्डियन प्रिमियर लिग क्रिकेटमा मुख्य मुख्य खेलाडीलाई खेल्न नदिने भएको छ।

पछिल्लो समय खेलाडीहरु लगातार घाइते भएकाले र यसै वर्षको अक्टोबरमा विश्वकप पनि रहेको भन्दै मुख्य मुख्य खेलाडीहरुलाई खेल्न रोक्ने निर्णय भएको हो। मुम्बईमा भएको बीसीसीआइको समिक्षा बैठकले विभिन्न निर्णयहरु लिएको छ। खेलाडीहरुको ‘वर्कलोड म्यानेजमेन्ट’ गर्ने विषयमा महत्पूर्ण छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मुम्बई बैठकमा टोलीका कप्तान रोहित शर्मा, प्रशिक्षक राहुल द्रविड, बीसीसीआई अध्यक्ष रोजर बिन्नी, बीसीसीआई सचिव जय शाह, छनोट समितिका पूर्व अध्यक्ष चेतन शर्मा र एनसीए प्रमुख भीभीएस लक्ष्मणको उपस्थिति थियो। एकदिवसीय विश्वकप पनि यसै वर्षको अक्टोबरमा हुने भएको छ। यस्तो अवस्थामा बीसीसीआईले आईपीएलमा प्रमुख खेलाडीलाई आराम दिन सक्छ।

भारतका धेरै प्रमुख खेलाडीहरु यो वर्ष चोटको सामना गरिरहेका छन्। यस्तो अवस्थामा यो भेटमा चोटको बारेमा निकै चर्चा भएको जनाइएको छ। बंगलादेशसँगको एकदिवसीय शृंखलामा भारतको पराजयपछि कप्तान रोहित शर्माले ठूला खेलाडीको चोटबारे बताएका थिए। उनलाई खेलाडीहरु फिट भएर पनि बारम्बार किन घाइते भइरहेका छन् भनी सोधिएको थियो। जवाफमा रोहितले भनेका थिए, ‘हामीले प्रयास गर्नुपर्छ र यसको तलसम्म पुग्नु पर्छ। मलाई थाहा छैन यो के हो। सायद उनीहरू धेरै क्रिकेट खेलिरहेका छन्। हामीले प्रयास गर्नुपर्छ र खेलाडीहरुमा नजर राख्नु पर्छ। किनभने यो। यो बुझ्नु महत्त्वपूर्ण छ कि जब तिनीहरू भारतका लागि आउँछन्, तिनीहरू पूर्ण रूपमा फिट हुन आवश्यक छ।’ सन् २०२२ को अधिकांश समय दीपक चाहर घाइते भए। जसप्रित बुमराह ढाडको समस्याबाट क्रमश ठिक हुँदैछन्। रविन्द्र जडेजा खुट्टाको चोटबाट निको भइरहेका छन्। चिकित्सक टोलीले यी सबै खेलाडीलाई कार्यभार व्यवस्थापनका बारेमा प्रस्तुति दिएको थियो।

यस्तै, बैठकमा २० खेलाडीको पूल बनाइएको छ, जसमध्येबाट एकदिवसीय विश्वकपको टोली छनोट गरिने निर्णय भएको छ। नयाँ खाकाअनुसार खेलाडीको सेन्ट्रल पूलका लागि फिटनेस र वर्कलोड रोडम्याप तयार गरिनेछ, जसका लागि काम सुरु भइसकेको छ। राष्ट्रिय टोलीमा पर्नका लागि घरेलु क्रिकेटमा युवा खेलाडीले पर्याप्त क्रिकेट खेल्नुपर्ने पनि बैठकमा बताइएको छ। यसअघि आइपिएलमा चम्कने खेलाडीले सिधै भारतीय टोलीमा स्थान पाउने गरेका थिए । 
 

Logo