सिद्धबाबामा सुरुङमार्गको निर्माण डेढ महिनाभित्र सुरु हुने

सिद्धबाबामा सुरुङमार्गको निर्माण डेढ महिनाभित्र सुरु हुने


मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ ।

सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा हरेक वर्ष पहिरोका कारण धेरैले ज्यान गुमाउने गरेका छन् । यसको नियन्त्रणको लागि सुरुङमार्ग निर्माण अघि बढाइएको हो । ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । अबको एक–दुई हप्तामै आयोजनाको डिजाइन स्वीकृत हुनेछ । त्यसपछि आवश्यक तयारी गर्दा ढिलोमा पनि डेढ महिनामा आयोजनाको निर्माण कार्य सुरु हुने बताइएको छ ।

आयोजना निर्माणको पूर्वतयारीको काम दुई महिनाअघिबाटै सुरु भइसकेको छ । साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउनेलगायतका पूर्व तयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउनेलगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख होमबहादुर एसीले बताए । ‘अब डिजाइन स्वीकृतिलगायतका प्रक्रिया सुरु गर्दा एक–डेढ महिना लाग्छ । त्यसलगत्तै आयोजनाको निर्माण सुरु हुन्छ’, उनले भने, ‘पहिलो चरणमा सुरुङ खन्ने पूर्वतयारीको काम हुन्छ । त्योअनुसार सुरुङ खन्ने काम सुरु गर्न भने केही समय लाग्न सक्छ ।’ 

सवा चार वर्षभित्र निर्माण सक्ने लक्ष्य

विभागले उक्त कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेको थियो । त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ, अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

यस्तो हुनेछ सुरुङमार्ग

सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ । यसमा नागढुंगा टनेलमा जस्तो छुट्टै आकस्मिक सुरुङमार्ग भने हुनेछैन । आकस्मिक अवस्थाका लागि भनेर छुट्टै तीनवटा सहायक सुरुङमार्ग बनाएर बाहिरी सडकमा जोडिनेछ । त्यहाँको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै रकसेड नामको संरचना बनाइनेछ, संरचनाको आकार छाताजस्तो हुनेछ । त्यसले माथिबाट आउने पहिरोलाई सडकमा नभएर सीधै तल्लो भागमा पुर्‍याउनेछ ।

आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो ।  सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो । ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ । उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।

Logo