के महाभारत कालमा दीपावली मनाइन्थ्यो ?

प्रकाशको सम्बन्ध सदैव सकारात्मतासँग जोडिएको छ । हर्ष, खुसी, उमंग, उल्लास एवं पर्वसँग जोडिएको छ । ज्ञानसँग पनि जोडिएको छ । यही प्रकाशको पर्वका रूपमा मनाइन्छ दीपावली अर्थात् तिहार ।

रामायण कालमा समेत दीपावली वा दीपोत्सव मनाइएको उल्लेख पाइन्छ । महाकवि कालिदासका कृतिहरू पढ्दा पनि तत्कालीन समयमा हर्षको समयमा दीपावली गर्ने गरिएको तथ्य फेला पर्दछ । अब प्रश्न उठ्छ, के महाभारत कालमा पनि दीपावली मनाइन्थ्यो ? यस सम्बन्धमा दुईवटा घटना उल्लेख गर्नु सान्दर्भिक हुनसक्छ ।

१. अन्नकूट महोत्सव

यो घटना श्रीकृष्णको बाल्यकालको हो । श्रीकृष्णले इन्द्रपूजाको विरोध गर्दै गोवर्धन पूजाका रूपमा अन्नकूटको परम्परा सुरु गरेका थिए । कूटको अर्थ हो पहाड, यस हिसाबले अन्नकूटको अर्थ हुन्छ, खाद्य पदार्थको पहाडझैँ थुप्रो अर्थात् खाद्य पदार्थको प्रचुर उपलब्धता । आजसम्म पनि अन्नकूट परम्परा दीपावलीको अभिन्न अंग रहिआएको छ । भाइटीकाको अघिल्लो दिन गोवर्धन पूजा गरिन्छ । यसपालि नेपालमा यो पर्व टीकाकै दिन परेको छ । गोवर्धन पूजाको प्रचलन आउनुअघि दीपावली पर्व इन्द्र र कुबेरको पूजासँग जोडिएको थियो । कुबेरको पूजा अद्यापि कायम रहे पनि इन्द्र पुज्ने चलन भने हटिसकेको छ ।

२. नरकासुर वध

मान्यताअनुसार दीपावलीको एक दिन पहिले श्रीकृष्णले अत्याचारी शासक नरकासुर अर्थात् भौमको वध गरेका थिए, जसलाई आजसम्म पनि नरक चतुर्दशी भनिन्छ । उक्त दिन नर्के नुहाउने चलन छँदै छ । नरकासुरको वध भएको खुसियालीमा गोकुल एवं मथुरा एवं द्वारिकावासीले दीप बालेर खुसी मनाएका थिए । अर्को घटना पनि यसै प्रसंगसँग जोडिएको तर अलिकति फरक छ । योचाहिँ श्रीकृणले सत्यभामाका लागि स्वर्गबाट पारिजात ल्याएको सम्बन्धित छ ।

श्रीकृष्णले नरकासुरको वध गरेर हजारौं महिला तथा पुरुषलाई जेलमुक्त गराएको दोस्रो दिन दीपावली मनाइएको उल्लेख पाइन्छ । असमको राजा नरकासुरले हजारौंलाई कैद गरेर राखेका थिए । ती सबैलाई कृष्णले स्वतन्त्रता दिलाए । यो घटनाको स्मृतिमा दक्षिण भारतका मानिसहरू अहिलेसम्म पनि सूर्योदयअघि उठेर बेसार र तेल मिसाएर बनाइएको नक्कली रगतमा स्नान गर्दछन् । नुहाउनुअघि राक्षसको प्रतीकको रूपमा एउटा तीतो फललाई आफ्नो गोडाले कुल्चेर विजयोल्लासका साथ त्यसको रस अर्थात् रगतलाई आफ्नो निधारमा लगाउँछन् ।

भनाइअनुसार भगवान् श्रीकृष्णले दीपावलीको दिनलाई नै महाभारत युद्धको प्रारम्भ गर्ने दिनका रूपमा चुनेका थिए । तर यो कुराको उल्लेख कतै पनि पाइएको छैन ।

के महाभारत कालमा दीपावली मनाइन्थ्यो ?