पोषणका विषयमा शिक्षित र अशिक्षित दुवै अनविज्ञ छन्ः बोनिता शर्मा

काठमाडौं । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका प्रेरणादायी तथा प्रभावशाली एक सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा परेकी छन् । ‘सोचाई’ संस्थामार्फत पोषणका क्षेत्रमा काम गर्दै आएकी बोनिता सन् २०१९ का लागि उक्त सूचीमा परेकी हुन् ।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधामा बीबीसीले हरेक वर्ष एक सय महिलाको सूची सार्वजनिक गर्दै आएको छ । द सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्सकी संस्थापक बोनिताले यस्तो सम्मान कसरी पाइन् ? सोचाई के हो ? जस्ता विषयमा केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले संस्थापक शर्मासँग कुराकानी गरेका छन् ।

‘बीबीसी हन्ड्रेड वुमेन’ मा छानिँदा कस्तो लाग्यो ?

‘बीबीसी हन्ड्रेड वुमेन’ भनेर छान्नु र त्यसमा आफू पनि परेको थाहा पाउँदा एकछिन त मलाई हो कि होइन जस्तो लागेको थियो । ‘लिस्ट’ आएपछि त्यसमा अरू को–को परेका छन् भनेर हेर्दा जुन जुन महिलाहरूलाई मैले आइडल मानेर कामहरू गरिरहेका हुन्थेँ, उनीहरू पनि थिए ।

महिलाहरू विविध विधामा सूचीकृत भएका थिए । त्यसमा हाम्रो टिमले गरेको कार्यक्रम थियो । विशेषगरी इनोभेसनको हिसाबमा । त्यसलाई आधार मानेर ‘ज्ञान’ विधामा पर्दा पहिला एकदम सक्ड भएँ, पछिचाहिँ एकदम खुसी लाग्यो ।

‘सोचाइ’को सोच के हो ?

यसको सोच युवाद्वारा नेतृत्व गरेर हाम्रो समाजको स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउने हो । विशेषगरी कुपोषणलाई अन्त्य गर्ने उद्देश्य वा सोच हो ।

‘सोचाइ’को अवधारणा कसरी आयो ?

‘सोचाइ’मा चारजना संस्थापक छौँ । चारैजना विविध फिल्डबाट थियौं । म पब्लिक हेल्थ न्युट्रेसन, नेहा मल्ल फार्मेशी न्युट्रेसन, आशुतोष मिडिया र मञ्जिता सोसल वर्कको हुनुहुन्थ्यो । हामी डाइभर्स क्षेत्रबाट आएका युवाहरू समुदायमा जाँदा हामीले देखेकै घटना, हामीले सुनेकै घटनाले चाहिँ हामीलाई यो समस्याको समाधान गर्नु जरुरी छ भनेर झकझक्याएको थियो ।

विशेषगरी हाम्रो नजिकैको समुदाय, जस्तो म काठमाडौंमा जन्मिएँ, यही नजिकैको एरियामा पोसिलो खानेकुराबारे थाहा नभएर, उहाँहरूलाई विभिन्न किसिमको विभेद भएर, गरिबीको कारण, अशिक्षाको कारणले अकालमै महिला दिदिबहिनी र बच्चाहरूले ज्यान गुमाइरहेको अवस्था देखेपछि त्यसको समाधान गर्नैपर्छ र हामी युवा भएर केही नयाँ गर्न सक्छौं भन्ने अठोट र जोस थियो । त्यही जोसलाई अगाडि बढार सोचाइको सुरुवात गरिएको हो ।

बीबीसीले तपाईले गरेको कुन कामबाट प्रभावित भएर यस्तो सम्मान दिन पुगेको हो ?

बीबीसीले छनोट गर्दा क्रिएटर, आर्टिस्ट, साइन्टिस्ट, राइटर, फाइटर, स्पोर्टसजस्ता विविध विधाकेन्द्रित व्यक्तित्वहरूलाई सँमेटेको थियो । त्यस्तै विविध विधामध्ये म चाहिँ ज्ञान विधा अन्तर्गत इनोभेटर भनेर छनोट भएकी थिएँ । त्यसमाथि पनि यो वर्षको थिमचाहिँ ‘फिमेल इज फ्युचर’ अर्थात् ‘महिलाहरू नै भविष्य हुन्’ भन्ने थियो । अझै पनि हरेक पावर र पोजिसनको नेतृत्व पुरुषहरूले नै गरिरहेका छन् ।

महिलाहरूले के के नयाँ काम गरिरहेका छन् त ? के के योगदान गरिरहेका छन् त ? भन्ने कुराको छनोट गर्दा हामीले गरिरहेको काम बीबीसीको छनोटमा पर्‍यो । हामीले ३/४ वर्षदेखि निरन्तर यहि क्षेत्रमा लागिराखेका छौं । त्यसैले यो सम्मान दिइएको जस्तो लाग्छ ।

सोचाइले उत्पादन गरेको पोषण र महिनावारी माला के हो ? जसले तपाईलाई यो सम्मान प्रदान गर्न सहयोग गर्यो ?

समाजमा गरिबीले वा खाना नपाएर मान्छे कुपोषित हुन्छ । तर, कुनै ठाउँमा यस्तो अवस्था पनि छ जहाँ चाही के खानुपर्छ भन्ने कुरा थाहा नपाएर पनि कुपोषित भइरहेको अवस्था छ । यस्तो अवस्था देखिसकेपछि के माध्यमबाट त्यस्ता आमाहरूलाई जानकारी दिन सक्छौं त ? कसरी स्तनपान गराउने ? कतिपटक गराउने ? कहिलेसम्म गराउने ? स्तनपानबाहेक बच्चालाई के के खुवाउने ? जस्ता जानकारीलाई एउटा साधारण तरिकाबाट कसरी दिन सकिन्छ भनेर हामीले विभिन्न फिल्डमा प्रयोग गरिरहँदा पोषणमाला भन्ने आइडिया आयो ।

पोषणमालामा २१ वटा फरक फरक प्रकारका दाना हुन्छन् । जसमा अंकहरू छन् । ०, ६, ९, १२ र २४ । त्यस्तै विभिन्न रंगहरू छन् । हरेक कुराको अर्थ छ । सुनौलो हजार दिनमा बच्चा पेटमा भएदेखि दुई वर्षसम्मको अवस्थामा बच्चाको दिमागको ८० प्रतिशत विकास हुने भएकाले यो समयमा बच्चालाई राम्रो स्याहार दिन सकियो, पोषण दिन सकियो भने पछि गएर ऊ एउटा स्वस्थ्य मानिस हुनसक्छ भन्ने अवधारणाका साथ माला बनाएका थियौं ।

सोचाइले विकास गरेको पोषण र महिनावारी माला । तस्बिरः दिपेन्द्र रायमाझी/केन्द्रबिन्दु ।

यस मालामा अंकले बच्चाको उमेर बुझाउँछ । त्यस्तै रंगले खानाका विविध परिकार बुझाउँछ । जस्तै सेतो भनेको आमाको दूध । खैरो भनेको अन्न बाली । पहेलो भनेको दाल गेडागुडी । हरियो भनेको सागसब्जी र फलफूलहरू र निलो भनेको पशुजन्य आहार बुझाउँछ ।

० देखि ६ बीचमा एउटा मात्र सेतो रंग भएकाले जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउने भन्ने बुझिन्छ । ६ महिनापछि पास्नी गरिन्छ । र कतिपय आमाहरूले बच्चालाई दाल र भात मात्र मिचेर खुवाउने गर्छन् । भनेपछि बच्चाले त्यहाँ भिटामिन, प्रोटिनहरू पाइरहेको हुदैन । त्यसैले त्यो सबै कुरा मिलायो भने सन्तुलित आहार हुन्छ र बच्चालाई अगाडि बढ्न आफ्नो शारीरिक, मानसिक रूपमा तन्दुरस्त हुनको लागि चारै किसिमका खानेकुरा मिलाएर खानुपर्छ भन्ने म्यासेज यस पोषणमालाले दिन्छ ।

अर्को महिनावारी माला चाहिँ के हो ?

मालासँगै दिइने अर्को पोषण कार्डले कतिपटक खुवाउने ? कसरी खुवाउने ? कति मात्रामा खुवाउने भन्ने जानकारी हुन्छ । त्यससँगै अर्को महिनावारी माला छ । महिनावारी हुने किशोरी तथा महिलाका लागि कहिले महिनावारी हुन्छ ? डिम्बासयबाट कहिले डिम्ब निष्कासन हुन्छ ? गर्भवती हुने सम्भावना सबैभन्दा बढी कहिले हुन्छ ? भन्ने कुरा यो मालाले बुझाउँछ । यसमा २८ वटा दाना छन् । जसले हरेक महिनाको २८ दिन बुझाउँछ भने त्यसमा झुण्ड्याइने हात्तीले आफु जुन दिनमा छुँ त्यसको संकेत गर्छ । यसलाई सार्न सकिन्छ ।

महिनावारी हुनु भनेको अछुत हुनु हो भन्ने रुढीवादी जनविश्वास अझै छ । धर्मसँग जोडिने भएकाले गाउँ मात्र नभएर सहरमा पनि महिलाहरू यसका कारणले पीडित छन् । किशोरीहरूलाई महिनावारीको बेला आइरनयुक्त खाना चाहिने बेला अछुत जस्तो व्यवहार गरिन्छ ।

त्यस्ता गलत धारणा तोड्नको लागि पनि यो मालाले सहयोग गर्छ । यो नर्मल कुरा हो है, तिम्रै शरीरभित्र हुने कुरा हो । बरु यसले तिमी आमा बन्न सक्षम छौं भन्ने संकेत दिएको हो । त्यसैले यसलाई गलत भन्दा पनि आत्मसात् गर्दै यो मेरा लागि शुभ हो भन्ने सन्देश दिनको लागि हामीले महिनावारी माला बनाएका हौं ।

यस्तो पोषण र महिनावारी माला बनाउने अवधारणाको विकास कसरी भयो ?

शिक्षित महिलाहरूले त पढेर कुपोषणबारे जानकारी लिनुहुन्छ । अशिक्षित महिलाहरू अझै पनि त्यो कुरामा पछाडि हुनुहुन्छ । त्यसबारे जानकारी नभएकाले हाम्रो पहिलो उद्देश्य भनेको शिक्षित अशिक्षित महिला दुवैलाई हुनसक्ने सरल, बुझिने खालको हुनुपर्छ भन्ने उद्देश्यका साथ बनाएका थियौं ।

त्यो बनाउने क्रममा बच्चाको पाखुरा नाप्नको लागि प्रयोग गरिने ‘मुआटेप’ जसमा हरियो, पहेलो र रातो गरी तीन किसिमको रंग प्रयोग गरिएको हुन्छ । बच्चाको पाखुरा नाप्दा हरियो रंग आयो भने ऊ स्वस्थ छ भन्ने बुझिन्छ । पाखुरा नाप्दा पहेला आयो भने मध्यम खालको कुपोषण भएको संकेत गर्छ । भने रातो रंग आयो भने बच्चा एकदमै कुपोषित छ भन्ने जनाउ दिन्छ ।

पब्लिक हेल्थ पढ्दा यो सिस्टम समुदायमा प्रयोग गरेकी थिएँ । त्यो प्रयोग गर्दा अशिक्षित आमाहरूले पनि रातो देख्नासाथ यो डेन्जरको संकेत हो भन्ने बुझ्नुहुन्थ्यो । त्यसैले रंगसँग मानिसहरूले यसरी जानकारी राख्न सक्ने रहेछन् ।

त्यस्तो देखिसकेपछि अब खानेकुरालाई पनि यस्तै रंगसँग सम्बन्ध राख्नुपर्यो भन्ने अवधारणा आयो । समुदायमै भएको खानेकुरालाई प्रमोट गरेर यो माला बनाएका हौं । विशषगरी सरकारकै हरेक बार खाना चार भन्ने नारा अनुसार नै बनाएका हौं ।

सुरुवातमा यसको प्रयोग कसरी गर्नुभयो ?

काठमाडौंकै नजिकको समुदाय लुभुमा यस्तो समस्या देखेका थियौं । त्यो ठाउँलाई बत्तीमुनिको अँध्यारो ठाउँ पनि भनिन्थ्यो । त्यसपछि हामीले त्यहिबाट सुरुवात गर्यो । त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउन आउने आमाहरूलाई काउन्सिलिङ गरेर माला दिएका थियौं । हामीले सरकारी निकायसँगै सहकार्य गरेर अगाडि बढ्दै आएका छौं ।
अहिलेसम्म ८ वटा जिल्लाका विभिन्न गाउँहरूमा यस्ता कार्यक्रम भइरहेका छन् ।

तपाई काठमाडौंमा जन्मे हुर्केेको मान्छे । कसरी यो क्षेत्रमा लाग्नुभयो ?

यस विषयमा सानैदेखि मेरो लगाव थियो । तर, भविष्यमा यही काम गर्छु । यही नै बन्छु भन्ने थिएन । पढाइ सकाएपछि स्थानीय गैरसरकारी संस्थामा काम गर्थे । त्यहाँ आवद्ध हुँदा विभिन्न समाजबारे बुझ्ने मौका पाएकी थिएँ । मेरो पढाइले पनि समाजमा गएर समाजसँग नजिक हुने मौका दियो ।

यस्ता मार्मिक घटनाहरू देखेँ । म आफैं एउटा किशोरी, युवा भएको नाताले म जस्तै किशोरीहरूको रियालिटी अर्कै थियो । त्यो खालको विभेद थियो । म काठमाडौंमा हुर्किएँ । मेरो बुबा र आमा दुवै शिक्षित हुनुहन्छ । मेरो सबै आवश्यकताहरू पूरा गरिन्थ्यो । भोक लाग्दा पोसिलो खाने कुरा हुन्थ्यो । विरामी पर्दा तत्कालै उपचार गरिन्थ्यो । तर म गएको एउटा गाउँको महिलाको उदाहरण दिन्छु ।

म गएको गाउँ पर्वत जिल्लाको आर्थर गाउँ । मजस्तै एउटा किशोरी । अहिले १४ वर्षको हुनुभयो । उहाँको बिहे भइसक्यो । उहाँ आफैं कुपोषित हुनुहन्छ । त्यसमा गर्भवती हुनुभयो । अब उहाँबाट जन्मिने बच्चा कस्तो हुन्छ ? उहाँलाई विवाह गर्ने इच्छा थिएन । तर समाजमा छोरी भनेको पराइ घर जाने हो भनेर विवाह गर्न बाध्य बनाइयो । अब उहाँबाट जन्मिने बच्चा कुपोषित हुने अवस्था आइसक्यो । ती किशोरीको आमा पनि स्कुल जाँदा जाँदै पढाई छाडेर विवाह गर्नुभएको रहेछ ।

उहाँ पनि कुपोषित हुनुहुथ्यो भने उहाँबाट जन्मिएकी ती छोरी कस्तो थियो होला ? यो कुपोषणको चक्र चलिरहथ्यो । स्वास्थ्य संस्था जान पनि एक घण्टा हिड्नुपर्थ्यो । जहाँ उहाँले चाहेको बेला सबै औषधि उपलब्ध थिएनन् । भनेपछि आधारभूत स्वास्थ्य सेवा लिनको लागि गर्नुपर्ने संघर्ष, सफा खानेपानी खानलाई गर्नुपर्ने संघर्ष, दैनिक पोषणयुक्त खानेकुरा खानलाई गर्नुपर्ने संघर्ष । अब मेरो र उहाँहरूको तुलना गर्दा आकाश पतालको फरक थियो । अझै पनि यो समस्या छ । विभेदबारे जान्ने मौका नजिकबाट पाएकाले पनि यहि क्षेत्रमा काम गर्छु भन्ने प्रेरणा मिलेको थियो ।

नेपालकी बोनिता शर्मा विश्वका प्रभावशाली सय महिलाको सूचीमा