जब महराको बहस चलिरहेका बेला रोशनीले इजलासमै दिइन् निवेदन
"महरा परिवारकै सदस्य हुन्ः शाही"

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको तथा कुटपिट गरेको आरोप लगाउँने महिलाले अदालतमा एक निवेदन दिएकी छन् ।

बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आइतबार जिल्ला अदालत काठमाडौंमा इजलासमै एक निवेदन दिएकी हुन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमै निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । तर उनले दिएको निवेदनमा के छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । दिएको निवेदन इजलासले लिएर मिसिलमा संलग्न गरेको र त्यसमा के लेखिएको छ भन्ने आफुलाई जानकारी नभएको उनको भनाइ छ ।

न्यायाधीश सुवेदीको इजलासले आजै महरमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ । आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटना सार्वजनिक भएको भोलिपल्ट नै महराले सभामुखको पदबाट राजीनामा दिए थिए । असोज १२ गते राति मदिरासहित रोशनीको कोठामा पुगेका महराले बलात्कार प्रयास तथा कुटपिट गरेको आरोप रोशनीले लगाएकी थिइन् । पछि आफ्नो बयान फेर्दै आएकी छन् ।

महरा परिवारकै सदस्य हुन्ः शाही
आफ्ना श्रीमानसँगै उपस्थित भएकी रोशनीले न्यायाधीशसमक्ष महराले आफूमाथि कुनै ज्यादती, दुव्यर्वहार वा हिंसा नगरेको बयान दिएकी हुन् । महराका कानून व्यवसायी वरिष्ठ अधिवक्त रमन श्रेष्ठका अनुसार ती महिलाले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध जाहेरी दिन बाध्य पारेको पनि आरोप लगाएकी छन् ।

महराले ती महिलामाथि बलात्कारको प्रयास गरेको आरोप सार्वजनिक भएपछि उनी यस अघि पनि महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेर महराले आफूलाई केही नगरेको व्यहोराको निवेदन दिएकी थिइन् ।

तर प्रहरीले उक्त निवेदन दर्ता नगरेको भन्दै उनले महरा आफ्नै परिवारको व्यक्ति भएको बताएकी थिइन् । वरिष्ठ अधिवक्ता श्रेष्ठका अनुसार शाहीले निवेदनमा प्रहरीले आफुलाई बन्धक बनाएर उजुरी दिन बाध्य पारेको उल्लेख गरेकी छन् ।