खेलकुद ऐन, नियमावलीमा २० वटा दफा समेटिने

खेलकुद ऐन, नियमावलीमा २० वटा दफा समेटिने


काठमाडौं ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनका लागि बनाउन लागिएको नियमावलीले २० वटा दफालाई समेट्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको नियमावली मस्यौदा समितिले खेलकुद ऐनका २० वटा दफालाई नियमावलीले समेट्नुपर्ने निष्कर्ष सहित सुझाव संकलनको काम अघि बढाएको हो । सोही अनुसार समितिले नियमावली निर्माण गर्न सुझाव संकलनको कार्यलाई अघि बढाउँदै सम्बन्धित विषयका सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेको हो ।

खेलकुद विकास ऐन असार १७ बाट कार्यान्वयनमा आएसँगै खेलकुद मन्त्रालयले सह–सचिव भक्तराज ढकालको नेतृत्वमा ७ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख समेत हुन् । समितिमा मन्त्रालय सहित कानुन मन्त्रालय र खेलकुद परिषद्का कानुन हेर्ने उप–सचिव सदस्य छन् ।

समितिले साउन २० भित्र आफ्ना सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना समेत जारी गरेको थियो । समितिले नियमावलीको प्रारम्भिक मस्यौदा बनाउन मन्त्रालयहरुका उप–सचिव रहेको टोलीलाई जिम्मेवारी दिएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेल संघ र महासंघकोतर्फबाट सुझाव संकलन गर्ने जिम्मेवारी रिम रानाभाटलाई दिएको थियो । समितिले खेल विज्ञको रुपमा रानाभाटलाई सदस्यको रुपमा मस्यौदा निर्माण समितिमा मनोनित गरेको हो । रानाभाटलाई सरकारले राखेप सदस्य सचिव सिफारिस समितिको सदस्यमा मनोनित गर्नुका साथै परिषद्को बोर्ड सदस्यको रुपमा समेत मनोनित गरेको छ ।

नियमावलीले समेट्ने २० वटा दफा के के हुन् ?

समितिले नियमावलीले समेट्ने २० वटा दफाको र्टुगो लगाईसकेको छ । जस अनुसार ऐनको दफा १५ (ध) ले निर्देश गरे अनुसार कार्यकारी समितिको काम, कर्तव्य र अधिकारका थप विषय नियमावलीले तोक्ने छ । त्यस्तै, दफा १७ (१३) अनुसार सदस्य सचिवको पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नियमावलीले तोक्नुपर्नेछ । दफा १८ (ञ) अनुसार सदस्य सचिवको काम कर्तव्य र अधिकार समेत नियमावलीले समेट्नुपर्नेछ । दफा १९ (७) अनुसार कर्मचारी समायोजन सम्बन्धी व्यवस्था तोक्ने र दफा २२ (२ङ) अनुसार संघ, प्रदेश र स्थानीय तहका खेल संघ स्थापना गर्ने सम्बन्धी अन्य मापदण्ड तोक्नेछ ।

यस्तै, दफा २३ (२) अनुसार खेल संघ/महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुन लाग्ने दस्तुर समेत नियमावलीले प्रष्ट बनाउनेछ । दफा २६ (२घ) अनुसार खेल संघ, महासंघले राष्ट्रिय मान्यता पाउन परिषद्मा दर्ता हुँदा पेश गर्नुपर्ने कागजातहरु तोक्ने र दफा २६ (४) अनुसार राष्ट्रिय मान्यता प्राप्त गर्ने खेल संघ/महासंघलाई परिषद्ले दिने प्रमाणपत्रको ढाँचा नियमावलीले निर्धारण गर्नेछ ।

यस्तै, दफा २६ (१०) अनुसार खेल संघ वा महासंघले नवीकरणका लागि आवश्यक कागजातको विषय नियमावलीले समेट्नेछ । दफा २६ (१३) ले उल्लेख गरे अनुसार राष्ट्रिय खेल संघ/महासंघ परिषदमा दर्ता हुने तथा नविकरण गर्ने सम्बन्धी अन्य व्यवस्थाका साथै दफा ३३ (क) अनुसार दफा ३२ को खण्ड (क) को कसुर गरेमा प्रतियोगितामा भाग लिन नपाउने अवधि समेत नियमावलीले परिभाषित गर्नेछ ।

यस्तै, दफा ३७ (५) अनुसार परिषद्मा दर्ता हुनको लागि ओलम्पिक कमिटिले तिर्नुपर्ने दस्तुर र निवेदनको ढाँचा तोक्ने तथा दफा ३७ (७) अनुसार ओलम्पिक कमिटि सम्बन्धी अन्य व्यवस्था समेत नियमावलीले समेट्नेछ । दफा ४० (२) अनुसार खेलाडीलाई रोजगारी दिने संस्थालाई प्रोत्साहनको व्यवस्था तथा दफा ४३ (२) अनुसार राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

यस्तै, दफा ४८ (१) अनुसार ठूला तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था गर्ने र दफा ४८ (६) अनुसार खेलकुद क्षेत्रमा सार्वजनिक निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ संस्थासँगको साझेदारी तथा लगानी सम्बन्धी व्यवस्थाको काम नियमावलीले गर्नेछ ।

दफा ४९ (२) अनुसार खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका र सहकार्य सम्बन्धी व्यवस्था र दफा ५० (३) अनुसार खेलाडी कल्याणकारी कोष सञ्चालन सम्बन्धी व्यवस्था समेत नियमावलीले निर्माण गर्नेछ ।

Logo