होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके निर्वाचित

होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके निर्वाचित


होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके सर्वसम्मत निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष चुकेका अनुसार यस पटक अन्य पदाधिकारी एवं सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (सङ्गठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेतीलाई सर्वसम्मत बनाइएको छ । त्यस्तै अन्य उपाध्यक्षहरुमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिला उपाध्यक्षमा भनादेवी चोखाल निर्वाचित भएका छन् ।  महाधिवेशनले महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रालाई निर्वाचित गरेको छ ।

त्यसैगरी, आठ जना सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल निर्वाचित भए । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ निर्वाचित भए । महासङ्घको संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, पर्यटन, सङ्गठन र महिला एक एक जनासहित अन्य चारजना गरी सात जना उपाध्यक्षह, एक महासचिव, एक उपमहासचिव, आठ जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष र निवर्तमान अध्यक्ष गरी कुल २३ जना पदाधिकारीसहित ७१ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

२०६७ सालमा स्थापना भएको होटल व्यवसायी महासङ्घको योे १० औं वार्षिक साधारणसभा र चौथो महाधिवेशन हो । महाधिवेशनमा देशभरबाट सात सय जना प्रतिनिधि एवं पर्यवेक्षक भेला भएका थिए । महासङ्घ अन्तर्गत देशभर ८० हजारको सङ्ख्यामा होटल एवं व्यवसाय रहेको बताइन्छ । झण्डै चार खर्ब लगानी रहेको अनुमान गरिएको यो व्यवसायको वार्षिक कारोबार पनि झण्डै चार खर्ब नै रहेको अनुमान छ ।

Logo