सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्य टुट्छ -क्यान अध्यक्ष चन्द

सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्य टुट्छ -क्यान अध्यक्ष चन्द


नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता पूर्ण रुपमा कार्यन्वयन नभए आगामी सिजनका लागि सहकार्य टुट्ने बताएका छन् । 

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष चन्दले साझेदार कम्पनी प्रतियोगिताको दौरान पैसा लिनका लागि भारत पुगेको र सम्झौता अनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने बताए । 
 
सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया नेपालमा प्रतियोगिता आयोजनाका लागि सुरक्षा चुनौति भएको भन्दै सोमवार भारत गएका थिए । 

क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए । पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा पहिलो किस्ता बापत १ करोड २० लाख दिइसकेको र बिहीवार एक करोड पठाएको उनले बताए । 

अध्यक्ष चन्दले सम्झौता अनुसारको बाँकी रकम पनि ल्याउने बताए । उनले फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए । केही टोलीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टोलीको पारिश्रमिक प्रतियोगिताको अवधि भर उपलब्ध गराउन पहल गर्ने र प्रतियोगिता पूर्ण रुपमा आयोजना हुने उनले बताए ।  

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चार माध्ययमा आएपछि क्यानले गरेको सम्झौतामा अनेकौं टिकाटिप्पणी हुन थालेका हुन् । 

Logo