हिमालय र जजिराले उडान रोकेपछि गौतमबुद्व विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नै ठप्प

हिमालय र जजिराले उडान रोकेपछि गौतमबुद्व विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नै ठप्प


हिमालय एयरलाइन्स र जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेपछि अन्तर्राष्ट्रिय उडान नै ठप्प भएको छ।

सञ्चालनमा आएको आठ महिना हुनै लाग्दासमेत विमानस्थलमा सहज अवतरणका लागि नयाँ हवाई रुटको व्यवस्था र विमानस्थलमा जडान गरिएका इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन्। अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएपछि हाल आन्तरिकतर्फका हवाई कम्पनीले मात्रै उडान गर्दै आएका छन्। त्यो पनि बिहान तराई र मधेशमा बाक्लो हुस्सु र कुहिरोले दृश्य क्षमता (भिजिबिलिटी) कम हुँदा आन्तरिक उडान प्रभावित हुन थालेका छन्।

अन्तर्राष्ट्रियतर्फका वायुसेवाले हवाई रुट यात्रुको अभाव र मौसम, पासपोर्ट, ट्राभल एजेन्सीलगायतका सेवाहरूको व्यवस्थाको कारण देखाउँदै उडान रोकेपछि अहिले विमानस्थलको सञ्चालन खर्चसमेत उठाउन धौ–धौको स्थिति सिर्जना भएको छ। विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने यो विमानस्थल अन्तर्राष्ट्रिय उडान रोकिएपछि आन्तरिक उडानमा निर्भर बनेको छ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसमकै कारण अन्तर्राष्ट्रिय उडान रोकिए पनि हवाई रुट, श्रम स्वीकृति, श्रम नवीकरणलगायतका व्यवस्थाले पनि भैरहवामा आकर्षण कम देखिएको हो। भैरहवाबाट उडान गर्न काठमाडौँबाट हवाई सेवाकै खर्चमा भैरहवासम्म यात्रु लगेर उडान गर्नुपर्ने बाध्यता रहेको थियो। उनले भने, “मौसमका कारण उडान अवतरणमा समस्या देखाउँदै जजिराले उडान रोके पनि भिजिबिलिटीमा सुधार लगत्तै उडान सुरु हुने अपेक्षा गरेका छौँ।” नियमिततर्फको उडान रोकिए पनि सम्भावित चार्टर उडानका लागि विमानस्थल २४सै घण्टा सञ्चालनमा रहँदै आएको छ।”

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार भैरहवामा उडान गर्न सामान्यतया एक हजार पाँच सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। हिउँदेयाममा भैरहवाको भिजिबिलिटी पाँच सय मिटरसम्म झर्ने भएकाले विमानस्थलमा कम भिजिबिलिटीमा पनि उडान–अवतरण गर्न सकियोस् भनेर एक अर्ब रुपियाँको लागतमा क्याटोगरी–१ को आईएलएस जडान गरिएको छ तर जडान भएको आईएलएसको रेडियो डेटा (फ्रिक्वेन्सी) भारतीय भू–भागमा परेपछि भारतसँग कूटनीतिक छलफलका माध्यमबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन्।

यो विमानस्थल भारतीय सीमा नजिक रहेकाले उपकरण अवतरण प्रणाली सञ्चालनमा ल्याउँदा भारतीय आकाश पनि प्रयोग हुने भएकाले भारतले स्वीकृति दिन आवश्यक नठानेको स्रोतको भनाइ छ। प्राधिकरणका एक पूर्वमहानिर्देशकका अनुसार विमानस्थल सुनसान हुनुमा अन्तर्राष्ट्रिय उडान सहजताका लागि नयाँ हवाई प्रवेश बिन्दु बनाएर उडान गर्न नपाउनु पनि एक कारण हो।

“भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई प्रवेश मार्ग पहिलो सर्त हो। काठमाडौँ प्रवेश गर्न सिमरा बिन्दु उपयुक्त रहे पनि भैरहवामा उडान गर्न त्यो बाटो उल्टो रहेको छ। सरकारले योजना सुरु गर्नुपूर्व नै भारतसँग नयाँ हवाई प्रवेश मार्ग दिने विषयमा लिखित सम्झौता नगर्नु नै गम्भीर त्रुटि भयो,” स्रोतको भनाइ छ। सुरक्षाका कारण भारत नयाँ हवाई रुट दिन तयार नहुँदा अहिले विमानस्थलबाट ठूला जहाज पुनः सिमरामा आएर जानुपर्ने बाध्यता रहेको छ। जसले गर्दा व्यावसायिक हिसाबले काठमाडौँ आउनुभन्दा भैरहवा जान जहाजलाई महँगो पर्ने देखिएको समेत उनको धारणा छ।

हाल पश्चिमी मुलुकबाट आएका जहाजहरू सिमराबाट प्रवेश गरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न ‘यु टर्न’ गर्नुपर्ने अवस्थाले विमानस्थललाई व्यावसायिक सफलता दिन समस्या देखिएको छ। 

Logo