न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै, आजै बुझाउने तयारी

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बस्दै, आजै बुझाउने तयारी


सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ।

एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ। मस्यौदालाई बिहीबारै टुंग्याउने तयारी गरिएको थियो । अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नसकेको हो।

कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने जानकारी दिए। ‘मस्यौदा तयारीको क्रममा छ, शुक्रबार बस्ने बैठकबाट सबै टुंगो लगाएर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,’ उनले भने । पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको पनि बताए।  उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलको सुझाव समेट्दै ड्राफ्ट तयार भएको जनाए।

कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो । सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन् । नागरिकको प्रत्यक्ष सरोकार रहेका सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाएर सुशासनको प्रत्याभूति दिलाउने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने, अर्थतन्त्रको सुधार गर्दै जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर सम्बोधन गर्दै अघि बढ्नेजस्ता विषयमा मस्यौदा समेटिएका छन् ।

सत्ता साझेदार दलहरुको सुझावलाई आधार मानी मस्यौदा तयार गर्न लागिएको हो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा साझेदार दलका १–१ जना सदस्य छन्। सत्ता गठबन्धनमा सात दल रहे पनि जनमत पार्टी र नागरिक उन्मुक्तिका तर्फबाट भने कार्यदलमा प्रतिनिधित्व छैन।

Logo