गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ कार्की नेतृत्वको संवैधानिक इजलासमा

गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ कार्की नेतृत्वको संवैधानिक इजलासमा


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटको सुनुवाइ हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा परेको छ ।

उक्त रिटको सुनुवाइ पेसी सूचीको १ नम्बरमा परेको छ । कार्कीका साथ इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन् । नागरिकता तथा राहदानीको विषय उठाउँँदै परेको रिटमा आज निवेदक र प्रतिवादी दुवै पक्षबाट बहस हुनेछ । बहसपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । अन्तरिम आदेश जारी भएमा लामिछाने सांसदका साथै मन्त्री पद समेतबाट पन्छिनुपर्नेछ । आदेश जारी नभएको खण्डमा उनको पद यथास्थितिमै रहनेछ ।

यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । 

Logo