#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1271841156461847384337415360
नेपाल167193882398442

बैतडी डोजर आतंकः नगरपालिकाको अनुमतिबिनै डोजर चलाइएको खुलासा (भिडियो सहित)

  • रामजी बलामी-

बैतडीको दशरथचन्द नगरपालिका ९ की गौरी जोशी सोमबार आफ्नो बारीमा घाँस काट्दै थिइन् । सोही बेला अचानक डोजर आएर बारी खन्न थाल्यो ।

डोजरले धमाधम आफ्नो जग्गामा बाटो खन्न थालेपछि गाउँका अन्य मानिसहरू समेत भेला भएर प्रतिकार गर्न थाले । जग्गाधनीहरूले डोजर चालकलाई सम्झाइबुझाइ गर्न खोज्दा उनले झन छिटछिटो डोजर चलाए । डोजर नजिक आएका स्थानीयलाई डोजरले पेल्न खोजे ।

त्यसपछि स्थानीयले ढुंगा प्रहार गरे । त्यसपछि चालकले उनीहरूमाथि नै डोजरको बकेट बर्साउन थाले । डोजरले कम्मरमा हिर्काएपछि गौरी बेहोस भएर ढलिन् । त्यसपछि पनि डोजर रोकिएन । चालकले मानवीय संवेदना समेत ख्याल नगरी स्थानीयमाथि डोजर आतंक मच्चाइ रह्यो ।

डोजर आतंकबाट ७ जना स्थानीय घाइते भए । आसपासमा गाउँलेहरू भेला भएर उनीहरूलाई बैतडी जिल्ला अस्पताल लगियो । अन्य ६ जनाको सोही अस्पतालमा उपचार भए पनि गौरीको उपचार त्यहाँ सम्भव नभएपछि धनगढी जिल्ला अस्पतालमा रिफर गरियो । उनको अझै होस खुलेको छैन ।

उल्टै प्रहरीमा उजुरी

घटनास्थलबाट इलाका प्रहरी चौकी करिब डेढ घण्टाको दूरीमा पर्छ । घटनाको बारेमा प्रहरीलाई दिउँसो ४ बजेतिर मात्रै खबर आएको बैतडी जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । घटनाको खबर आउनासाथ खटिएको प्रहरी टोलीले चालक किशोर बोहोरालाई नियन्त्रणमा लिएको छ ।

डोजर चालक पक्षका व्यक्तिहरू प्रहरी कार्यालय पुगी डोजर तोडफोड गरेको भन्दै उजुरी गरेका छन् । घाइते पक्षका व्यक्तिहरू भने अझै सम्पर्कमा नआएको डिएसपी पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेले सो ठाउँमा स्थानीयबीच सहमति नजुटेसम्म बाटो नखन्न गरिएको अनुरोधको वेवास्ता गर्दै डोजर चलाएपछि घटना हुन पुगेको बताए ।

यसरी भयो घटना

सडक खन्ने विषयमा तल्लो र माथिल्लो टोलका बासिन्दाबीच भएको विवादले घटना हुन पुगेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् ।

नगरपालिकाले दुई वर्षअघि नै वडा नम्बर २ र वडा नम्बर ९ जोड्ने सडक खन्न सुरु गरेको थियो । वडा नम्बर २ को सडक खन्न सकेर ९ नम्बर वडामा पुग्दा सो ठाउँमा दुईवटा बस्ती रहेकाले दुवै बस्तीमा बाटो लैजाने योजनाअनुरूप काम भइरहेको थियो ।

सोही क्रममा विवाद उत्पन्न भएपछि दुवै बस्तीका स्थानीय नगरपालिकाको कार्यालयमा पुगेका थिए । जग्गाधनीले जग्गा अंशबण्डा गर्न केही समय मागेपछि नगरपालिकाले पनि सोहीअनुसार तत्काललाई काम रोक्न आग्रह गरेको थियो ।

काम रोक्न आग्रह गरिएको योजनामै अचानक डोजर आतंक मच्चाउनु निन्दनीय काम भएको बताउँदै चन्दले भनिन्, ‘यो काम गर्न कोही न कोहीले उक्साएको हुनुपर्छ, अमानवीय काम गर्नेलाई हामी कारवाहीको सिफारिस गर्छाैं ।’

भिडियो स्रोत: एभिन्यूज टिभी  

सम्बन्धित समाचारहरु

ताजा समाचार