धनतेरसका दिन पुजिने धन्वन्तरि को हुन् ?

धन तेरसका दिन भगवान् धन्वन्तरिको विशेष पूजा हुन्छ । विशेष गरी व्यापारी वर्गले जोसका साथ मनाउँछन् यो पर्व । पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहारका दिन धन्वन्तरि त्रयोदशी मनाइन्छ, जसलाई धनतेरस पनि भनिन्छ । धन्वन्तरिलाई आयुर्वेदको जन्मदाता एवं देवताहरूको चिकित्सक मानिन्छ । भगवान् विष्णुका २४ अवतारमध्ये धन्वन्तरी १२औं अवतार हुन् ।

विशेषगरी धन्वन्तरिसम्बन्धी ३ वटा कथा प्रचलित छन् :

पहिलो : समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरि प्रथम – भगवान् धन्वन्तरिको उत्पत्ति समुद्र मन्थनका क्रममा भएको थियो । उनी समुद्रबाट अमृतको कलश हातमा लिएर बाहिर निस्केका थिए । यही अमृतप्राप्तिका लागि देवता र दैत्यहरूबीच युद्ध भएको थियो । समुद्र मन्थनको कथा श्रीमद्भागवत पुराण, महाभारत, विष्णु पुराण, अग्नि पुराण आदिमा पाइन्छ ।

दोस्रो : धन्वका पुत्र धन्वन्तरि द्वितीय – प्रसंगअनुसार काशी राजवंशमा धन्व नाम गरेका एक राजा थिए । उनले उपासना गरेर अज्ज देवलाई प्रसन्न तुल्याए र वरदानस्वरूप धन्वन्तरि नामका पुत्र प्राप्त गरे । यसको उल्लेख ब्रह्म पुराण र विष्णु पुराणमा पाइन्छ । यो समुद्र मन्थनबाट उत्पन्न धन्वन्तरिको दोस्रो जन्म थियो । राजा धन्व काशी नगरीका संस्थापक काशका छोरा थिए ।

काशी वंश परम्परामा दुईथरी वंशपरम्पराको उल्लेख पाइन्छ । हरिवंश पुराणअनुसार काशबाट दीर्घतपा, दीर्घतपाबाट धन्व, धन्वबाट धन्वन्तरि, धन्वन्तरिबाट केतुमान, केतुमानबाट भीमरथ, भीमरथबाट दिवोदास भए । जब कि विष्णु पुराणअनुसार काशबाट काशेय, काशेयबाट राष्ट्र, राष्ट्रबाट दीर्घतपा, दीर्घतपाबाट धन्वन्तरि, धन्वन्तरिबाट केतुमान, केतुमानबाट भीमरथ र भीमरथबाट दिवोदास भए ।

तेस्रो : वीरभद्राका पुत्र धन्वन्तरि तृतीय – गालव ऋषि एकपटक प्यासले व्याकुल भएर वनमा भट्किरहेका थिए । त्यतिबेलै कतैबाट घडामा पानी लिएर वीरभद्रा नामकी एक कन्या कतै गइरहेकी थिइन् । उनले ऋषिको प्यास बुझाइदिइन् । यसबाट प्रसन्न भएका ऋषिले उनलाई योग्य पुत्रको माता बन्ने आशीर्वाद प्रदान गरे । यो सुनेपछि वीराभद्राले आफू एक वेश्या भएको बताइन् । यो सुनेपछि ऋषिले उनलाई आफ्नो आश्रममा लिएर गए । उनले कुशको एक पुरुषकृति बनाएर वीरभद्राको काखमा राखिदिए र वेदमन्त्रद्वारा अभिमन्त्रित गरेर त्यसमा प्राण प्रतिष्ठा गरिदिए । तिनै व्यक्ति धन्वन्तरि कहलाए ।

माथिका ३ कथामध्ये पहिला दुई कथा बढी मान्य छन् । पहिलो कथाका अनुसार देवता र दैत्यहरूको साझा प्रयास शान्त भएपश्चात पनि समुद्रमा स्वयं नै मन्थन चलिरहेको थियो । यसै क्रममा धन्वन्तरि हातमा सुनको अमृत कलश लिएर प्रकट भए । यस क्रममा पहिले थुप्रै औषधिहरू निस्किए । पछि अमृत निस्कियो ।

खासमा धन्वन्तरिलाई आयुर्वेदको जन्मदाता मानिन्छ । उनले विश्वभरिका वनस्पतिहरूमाथि अध्ययन गरेर तिनका राम्रा नराम्रा प्रभाव एवं गुण पत्ता लगाए । धन्वन्तरिका हजारौं ग्रन्थमा अहिले केवल धन्वन्तरि संहिता उपलब्ध छ, जुन आयुर्वेदको मूल ग्रन्थ हो । आयुर्वेदका आदि आचार्य सुश्रुतले धन्वन्तरिबाटै यस विद्याको ज्ञान प्राप्त गरेका थिए । पछि चरक आदिले यस परम्परालाई अघि बढाए ।
मान्यता अनुसार धन्वन्तरिको समय ईसापूर्व ७ हजार वर्ष थियो । उनी काशीका राजा धन्वका पुत्र थिए । उनले शल्य शास्त्र (चिरफारद्वारा गरिने उपचार) मा विशेष एवं महत्वपूर्ण अनुसन्धान गरेका थिए । उनका नाति दिवोदासले त्यसलाई परिमार्जित गरेर सुश्रुत आदि शिष्यलाई त्यो ज्ञान बताए । दिवोदासकै समयमा चर्चित दशराज्ञ युद्ध भएको थियो । धन्वन्तरिको जीवनको सबैभन्दा ठूलो वैज्ञानिक प्रयोग अमृतसम्बन्धी थियो । उनको जीवनसँग अमृतको सुनको कलश जोडिएको छ । धन्वन्तरिले अमृत निर्माण गर्ने प्रयोगका विषयमा स्वर्ण पात्रमा बताएका थिए ।

धन्वन्तरिका अनुसार बुढ्यौली र मृत्युको विनाशका लागि ब्रह्मादि देवताहरूले सोम नामक अमृत आविष्कार गरेका थिए । धन्वन्तरि आदि आयुर्वेदाचार्यहरूका अनुसार १०० प्रकारका मृत्यु छन् । तीमध्ये एक काल मृत्यु हो, बाँकी ९९ अकाल मृत्यु रोक्ने प्रयास नै आयुर्वेद निदान एवं चिकित्सा हो । आयुको न्यूनाधिक्यको एक–एक माप धन्वन्तरिले बताएको छन् ।

धन्वन्तरिको जन्म ‘धनतेरस’ का दिन भएको थियो । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका आराध्य देवता हुन् । रामायण, महाभारत, सुश्रुत संहिता, चरक संहिता, काश्यप संहिता तथा अष्टांग हृदय, भाव प्रकाश, शारंगधर, श्रीमद्भागवत पुराण आदिमा उनको उल्लेख पाइन्छ । धन्वन्तरि नामका अरू पनि थुप्रै आयुर्वेदाचार्य भएका छन् । आयुको छोराको नाम पनि धन्वन्तरि थियो ।

धनतेरसका दिन पुजिने धन्वन्तरि को हुन् ?