कोरोनाको केन्द्र बन्दै काठमाडौं उपत्यका, यस्तो छ पछिल्लो अवस्था

कोरोनाको केन्द्र बन्दै काठमाडौं उपत्यका, यस्तो छ पछिल्लो अवस्था


काठमाडौं ।

विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यका कोरोनाको केन्द्र जस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदैछन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा ३ सय ६० जना कोरोना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जानकारी गराए।

मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षे एक पुरुष, सर्लाही मलंगवा नगरपालिका–८ की ६५ वर्षीया एक महिला, धनुषा मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीय एक पुरुष र सप्तरी रुपनि नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन् ।

२४ घण्टामा कहाँ कहाँ संक्रमण बढ्यो

प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । संक्रमण पुष्टि हुनु अघि मन्त्री यादव १४ साउनमा काठमाडौंमा प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा सहभागी भएका प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुष्टि गरेको छ । छलफल कार्यक्रममा मन्त्री यादवले प्रधानमन्त्रीसँग पनि भेटघाट गरेको स्रोतले जनाएको छ ।

उनी काठमाडौंमा साउन १६ मा भएको प्रहरी समायोजन सम्बन्धी सम्मेलनमा समेत सहभागी भई जनकपुर फर्किएको र १७ गते धनुषाको धनुषाधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रमुख (आईजीपी) शैलेश थापा पनि सहभागी भएको थियो । ठूलो संख्यामा सर्वसाधारण सहभागी पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले भाग लिएका थिए। पार्टी प्रवेश कार्यक्रमको दोस्रो दिन मन्त्री यादवले स्वाब परीक्षण गराएकोमा कोरोना पोजिटिभ देखिएको हो ।

यसका साथै पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जना गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकाका ८७ जनासहित ३ सय ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ३ सय ८९ पुगेको डा. गौतमले जानकारी गराए ।

राज्य सुरक्षाको प्रमुख जिम्मेवार निकाय प्रहरी प्रधान कार्यालयमा मात्र ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरी सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा ४६ जनामा कोरोना पुष्टि भइसकेको छ । यसका साथै दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने सर्वसाधारणसहित इलाममा मात्र कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ घण्टामा कोरोना संक्रमित कर्मचारीहरको संख्या ३५ पुगेको छ । गएको मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र यतिबेला कोरोना संक्रमणको जोखिममा परेको छ । मंगलबार १ डाक्टर, १ नर्स र ३ जना बिरामीमा कोराना संक्रमण पुष्टि भए लगतै गरिएको कन्ट्रयाक टे«सिङ परिक्षण गर्दा बुधबार थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा समुदाय रेन्डम सेम्पलिङ विधिबाट ३ हजार ३ सय ३८ जनामा गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराए । जिल्लामा ४ सय ७० जना कोरोना संक्रमितसँग समुदाय स्तरबाट पुष्टि भएको छ ।

यो संख्या रेन्डम सेम्पलिङ र कन्ट्याक्ट ट्रेसिङबाट पुष्टि भएको हो । अधिकांशको कुनै ट्राभल हिस्ट्री देखिँदैन । जसमा जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, निजामती कर्मचारी, व्यवसायी रहेका छन् । समुदाय स्तरमा कोरोना संक्रमण भएपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार एक चिकित्सकसहित थप २८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । काठमाडौं पनि कोरोना संक्रमणको उच्च जोखिममा पर्दै गएपछि सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी जोरबिजोर प्रणाली लागू गरेको छ ।नेपाल समाचारपत्रबाट

Logo